०५ साउन २०८३, मंगलबार
सरकार ढल्ने हल्लाको चिरफार

सरकार परिवर्तनको हल्ला– पानी नपार्ने बादलको गड्याङगुडुङ !

पुस २८, २०८१
काठमाडौं
सरकार परिवर्तनको हल्ला– पानी नपार्ने बादलको गड्याङगुडुङ !

केही दिनको अन्तरालमा देशमा फेरि एकपटक सरकार परिवर्तनको ‘बेमौसमी बजार हल्ला’ शुरू भएको छ ।

यो अन्त्यहीन हल्ला असार ३१ गते केपी शर्मा ओली प्रधानमन्त्री बनेको महिना दिनदेखि नै शुरू भएको थियो । नेकपा एसका नेता मेटमणि चौधरीले त ४ महिनाको समयसीमा नै तोकेका थिए, प्रचण्डले पछिल्लोपटक विश्वासको मत मागेको दिनमा । 

सरकार परिवर्तनको विषय यति सस्तो भइदियो कि पृथ्वीजयन्तिको चियापानका लागि निम्तो दिन राजेन्द्र लिङ्देन शेरबहादुर देउवाको घरमा पुग्दा पनि सरकार परिवर्तनको हल्ला चलिहाल्छ ।

सहकारी ठगीको अनुसन्धानका लागि थुनामा रहेका रास्वपा सभापति धरौटीमा रिहा हुँदा सरकार ढल्ने भविष्यवाणी शुरू हुन्छ । पार्टीको बैठकमा केपी शर्मा ओलीले संविधान संशोधन २०८७ मा मात्र हुन्छ भन्दा सरकार ढल्ने दिनगन्ती शुरू हुन्छ ।

यतिसम्म कि पुस ६ गते कीर्तिपुरमा एनपीएल क्रिकेटको पुरस्कार वितरणमा प्रमुख अतिथि बनेका देउवा र सोभा बढाउन गएका प्रचण्डको जम्काभेट हुँदा पनि सरकार ढल्ने चर्चा हुन्छ ।

पछिल्लोपटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार ढल्ने कुरा गरे, शुक्रबार सिंहदरबारमा । ‘यो गठबन्धन अप्राकृतिक छ, अलोकतान्त्रिक छ, अपारदर्शी छ भन्ने कुरा मैले गम्भीर रूपले पार्लियामेन्टमा र बाहिर पनि भनेको सुन्नुभएकै छ । अप्राकृतिक भएकाले अब यो चल्दैन,’ पत्रकारले सोधेको एक प्रश्नको जवाफमा प्रचण्डले भनेका थिए । 

सरकार ढल्नेबारे प्रचण्डको अभिव्यक्ति आफैंमा विरोधाभाषपूर्ण छ । उनको भनाइमा उक्ति मिलेको छैन ।

जस्तो कि कात्तिक ३० गते अखिलेश्वर दासको स्मृति कार्यक्रममा उनले भनेका थिए– ‘सरकार छाड्दा पीडा छैन, रिल्याक्स महसुस गरेको छु ।’

मंसिर १ गते काभ्रे–काठमाडौं सम्पर्क समितिको भेलामा प्रचण्डले भने– ‘माओवादीसँग अहिले पनि ३२ सीटको म्याजिक नम्बर छ ।’ 

मंसिर २५ गते चितवन पुगेर फेरि भने– ‘हाम्रो रूचि सरकार परिवर्तनमा छैन, ध्यान जनतामा छ । पुस २१–२३ मा बसेको केन्द्रीय कमिटी बैठकमा पनि उनले दोहोर्‍याए– ‘अहिले हामी सत्ताको खेलमा छैनौं ।’

सरकार गठन–विघटनको ल्याकत राख्ने शक्तिको कसरतविना अहिले चलिरहेका सरकार परिवर्तनका हल्ला ‘पानी नपार्ने बादल’को गड्याङगुडुङजस्तै हो । 

दाबी जे जस्तो गरे पनि सत्ताको मदहोसबाट प्रचण्ड मुक्त भइसकेका छैनन् । प्रचण्डका कुनै पनि अभिव्यक्ति स्थिर रहँदैनन्, मञ्चपिच्छे उनले फरक–फरक अभिव्यक्ति दिएर आफ्नो अस्थिर छविलाई उजागर गरि नै रहेका छन् ।

केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि सरकार परिवर्तनको हल्ला चलेको यो सम्भवतः पाँचौंपटक हो । 

महिनैपिच्छे सरकार ढल्ने भविष्यवाणी चलिरहेको छ । ‘दशैंलगत्तै ढल्छ’ भनेर प्रचण्डले भनेका थिए । 

सरकार परिवर्तनको हल्ला चल्नलाई कुनै औंसीपूर्णिमा चाहिँदैन । मंसिर १९ मा चीनसँग बीआरआई सम्झौताको फ्रेमवर्कमा हस्ताक्षर गरेपछि सरकार ढल्ने भविष्यवाणी गरियो । सरकारको भविष्यलाई लिएर प्रधानमन्त्रीले प्रश्नको सामना गर्नुपर्‍यो । 

सरकारले व्यावसायिक वातावरणका लागि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याउने निर्णय गर्दा ‘दल विभाजन अध्यादेश’ आयो, सरकार ढल्छ भनेर शुक्रबार एकाएक सामाजिक सञ्जाल रंगियो ।

तर, सरकार ढल्नेगरी कुनै राजनीतिक कसरत भएकै छैन । सत्ताको मियोमा रहेको कांग्रेस सभापति देउवा आफ्नो अडानमा सतिसालजस्तै उभिँदा सरकार ढाल्ने प्रयास गौण बनेका छन् ।

पढ्नुहोस्, यो पनि :

सरकार कहिले ढल्छ ?

असफल भएका ती प्रयास

अहिले विद्यमान रहेको ओली नेतृत्वको सरकार र भविष्यमा बन्ने भनिएको सरकारको पनि ‘किङमेकर’ कांग्रेस हो । कांग्रेस भन्नुको अर्थ शेरबहादुर देउवा हुन् । 

प्रधानमन्त्री बन्ने सुनिश्चितताका लागि देउवा हदैसम्मको इमान्दार बन्दिन सक्छन् । माओवादी, रास्वपा, राप्रपा, माधव नेपाल र उपेन्द्र यादवजस्ता पार्टीलाई मिलाएर भ्यागुताको धार्नी पुर्‍याउनुभन्दा एमालेको समर्थनमा सरकारको नेतृत्व गर्न सहज हुने देउवाको बुझाइ छ ।

जस्तो कि गत वर्षको फागुन २० भन्दा पहिला प्रचण्डले शंका गर्छन् भनेर  देउवाले ओलीलाई भेट्न मानेनन् । देउवालाई लक्षित गर्दै ओलीले संसद्मा भनेका थिए– ‘भेटौं न त भन्दा कुनै नचल्ने !’ 

देउवाको मनमा भय थियो– ओलीसँग भेटेको थाहा पाए प्रचण्ड भड्किने छन् । देउवा अहिले त्यही पोजिसनमा छन्, प्रचण्डसँग नभेट्ने । देउवाको अर्जुनदृष्टि २०८३ सालको असारमा छ, ओलीले सत्ता हस्तान्तरण गर्न गरेको लिखतमा तोकिएको मिति ।

null

ओली स्वयंले संसद्बाट घोषणा गरेको र केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक दस्तावेजमा पनि ओलीले सत्ता हस्तान्तरणको विषयलाई अनुसूचीमा राखेका छन् । 

‘मिसन ०८३’को व्यग्र प्रतीक्षामा रहेका देउवाले सरकारको नेतृत्वका लागि आएका वैकल्पिक प्रस्तावलाई सुनेकोनसुन्यै गरेका छन् । सरकारको नेतृत्व लिइदिनुपर्‍यो भनेर प्रचण्डले हप्तैपिच्छे प्रस्ताव पठाएको भनेर कांग्रेस महामन्त्री गगन थापाले कीर्तिपुरको चुनावी सभाबाट भनेका थिए । देउवा ‘टसको मस’ नभएपछि प्रचण्डले बाहिर भन्छन्– ‘म सत्ताको खेलमा छैन, बाहिर रिल्याक्स गरिरहेको छु ।’ 

देउवालाई फकाउन झण्डै आधा दर्जनपटक गरिएका प्रयास विफल भएको माओवादी स्रोत बताउँछन् ।

देउवा कुरा सुन्नै तयार नभएपछि प्रचण्डले माओवादीलाई २०६४ सालकै हैसियतमा फर्काउने हुंकार गरेर कार्यकर्तालाई उत्साहित गराउन खोजेका हुन् । 

छैटौंपटक प्रधानमन्त्री बन्नका लागि दिन गनेर बसिरहेका देउवा पार्टीभित्र अनुकूल बनाउन लागिपरेका छन्, महाधिवेशन गर्नुपर्ने बाध्यकारी प्रावधानको विकल्प खोज्न । २०८४ सालमा हुने आमनिर्वाचनपछि मात्र महाधिवेशन गर्न उपयुक्त हुने भनेर देउवाका हितैषी डा. शशांक कोइरालाले मुख खोलिसकेका छन् । 

कांग्रेस संस्थापनका नेताहरूसँग बुझ्दा देउवाको मनसाय पनि त्यही छ, पहिला प्रधानमन्त्री बन्ने अनि मात्र महाधिवेशन । महाधिवेशन पर सार्नका लागि देउवासँग अनेक उपाय छन्, निर्वाचन आयोगमा अस्तित्वमा रहेको नेपाली कांग्रेस बीपीलाई भित्र्याइसकेका छन् ।

सरकारको ‘पफर्मेन्स’लाई लिएर एमालेका नेता असन्तुष्ट होलान्, तर देउवा छैनन् । सरकारले राम्रो काम गरिरहेको र अझ राम्रो काम गर्नुपर्ने भनेर सार्वजनिकरूपमै देउवाले सरकारको बचाउ गरे । 

ओलीले पनि देउवालाई पर्याप्त भाउ दिएकै छन् । देउडा खेल्न टुँडिखेलमा जाँदा होस् या उत्पीडित जातीय मोर्चाको कार्यक्रममा सँगै उपस्थित भए ।

नेकपाको ७५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा समेत देउवालाई ओलीले विशेष महत्त्व र सम्मान दिएकै थिए । 

पछिल्लोपटक सिंहदरबारमा हुने उच्चस्तरीय कार्यक्रममा ओलीले आफूसरहको कुर्सीमा राखेर देउवालाई महत्त्व दिएका छन् । 

पढ्नुहोस्, यो पनि :

सिंहदरबारमा देउवालाई प्रधानमन्त्री ओलीसरह कुर्सी !

‘अन्तिम विकल्प’ असफल हुँदाको लेखाजोखा !

संसदीय लोकतन्त्रमा संसद्भित्रको पहिलो र दोस्रो दल मिलेर सरकार गठन गर्ने अवस्था दुर्लभ हो ।

राजनीतिक स्थिरताका लागि भन्दै कांग्रेस र एमालेले यो जोखिम उठाएका थिए । यो प्रयोगलाई कांग्रेस–एमालेले अन्तिम विकल्प भनेका छन् । 

कांग्रेससँगको सहकार्यबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा पेश गरेको राजनीतिक दस्तावेजमा लेखेका छन्– ‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा हावी अवसरवाद, अस्थिर सोच, आडम्बर र दाउपेचका कारण राजनीतिक स्थायित्व, विकास तथा आमजनतामा आशा/भरोसा जगाउने हाम्रो इमान्दार प्रयास सफल हुन पाएन । त्यसपछि गत असारदेखि नयाँ राजनीतिक यात्रा प्रारम्भ भएको छ ।’

null

कांग्रेससहितको गठबन्धनलाई मुलुकको अग्रगमनका लागि एक मात्र विकल्पको संज्ञा दिँदै ‘नयाँ राजनीतिक कोर्स, आवश्यकता, औचित्य र अवसर’को शीर्षकमा ओली लेख्छन्– ‘कांग्रेस मुख्य प्रतिस्पर्धी हुनुको अर्थ हमेसा निषेध र विरोधको मनोविज्ञानका साथ अगाडि बढ्नुपर्छ भन्ने होइन । 

आजको मितिमा कांग्रेस–एमाले (सारमा देउवा र ओली) एक ठाउँमा छन्, जुन उद्देश्यले सरकार गठन भएको थियो, ती परिस्थिति विद्यमान छन् ।

एमालेसँग भएको सहमतिलाई कांग्रेसले पनि औपचारिक अनुमोदन गरेको थियो । असार १९ गते बसेको कार्यसम्पादन समितिको बैठकको निर्णयमा भनिएको छ– ‘नेपाली कांग्रेस र नेकपा (एमाले)बीच राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तीव्रता दिन, राजनीतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई सुदृढ गर्नेगरी संविधान संशोधन गर्न, अर्थतन्त्रलाई बलियो बनाउन र यी उद्देश्य प्राप्तिका लागि राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलोपटक नेकपा (एमाले)का अध्यक्ष माननीय के.पी. शर्मा ओली र दोस्रोपटक नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवाले गर्नेगरी भएको सहमतिलाई कार्यान्वयन गर्न यो बैठक दृढता व्यक्त गर्दछ ।’   

वर्तमान गठबन्धन असफल हुँदा उत्पन्न हुनसक्ने भयावह अवस्थाबारे असार १७ अघि कांग्रेस र एमालेबीच घनीभूत छलफल भएको थियो । 

संसद्को पहिलो र दोस्रो दल मिलेर बनेको सरकार असफल भयो भने के हुन्छ ? भन्नेबारे त्यो बेला समेत छलफल भएको थियो ।

‘अन्तिम विकल्प भनिएको गठबन्धन असफल भयो भने सरकार मात्र होइन, संविधानको भविष्य समेत दाउमा लाग्नेछ भन्ने हाम्रो बुझाइ छ,’ सहमति ड्राफ्टमा जुटेका एक नेता भन्छन्, ‘कांग्रेस र एमालेले समेत परिस्थिति थाम्न सकेनन् भने यो देशलाई कसले सम्हाल्ने ?’

जोमसोमको मौसमलाई माथ दिने नेपालको राजनीतिको भविष्यवाणी गर्न त कठिन छ, जुनसुकै बेला जे पनि हुनसक्छ । परन्तु, आजको मितिमा कांग्रेस–एमाले (सारमा देउवा र ओली) एक ठाउँमा छन्, जुन उद्देश्यले सरकार गठन भएको थियो, ती परिस्थिति विद्यमान छन् ।

सरकार गठन–विघटनको ल्याकत राख्ने शक्तिको कसरतविना अहिले चलिरहेका सरकार परिवर्तनका हल्ला ‘पानी नपार्ने बादल’को गड्याङगुडुङजस्तै हो । 

salt training

कमेन्ट गर्नुहोस्