२७ असार २०८३, शनिबार

भारतबाट दुई लाख मेट्रिक टन गहुँ आयात हुने

पुस २८, २०८१
काठमाडौं
भारतबाट दुई लाख मेट्रिक टन गहुँ आयात हुने

नेपालले भारतबाट दुई लाख मेट्रिक टन गहुँ आयात गर्ने भएको छ ।  व्यापार, पारवहन र सहकार्य सम्बन्धी भारत–नेपाल अन्तरसरकारी समिति (आईजीसी) को बैठकमा भारतीय पक्षले नेपालको अनुरोध स्वीकृत भएको जानकारी गराएको हो । 

‘बैठकमा भारतीय पक्षले दुई लाख मेट्रिक टन गहुँ आपूर्तिका लागि नेपालले गरेको अनुरोध स्वीकृत भएको  जानकारी गरायो । नेपाललाई अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्न भारतीय पक्षले निरन्तर सहयोग गरेकोमा नेपाली पक्षले धन्यवाद व्यक्त गरेको थियो’, नेपालस्थित भारतीय दूतावासले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यस्तै नेपाली पक्षको अनुरोधमा भारतीय पक्षले फूलबारी (भारत) रुट हुँदै काँकडभिट्टा (नेपाल)–बंगलाबन्ध (बंगलादेश) मा कार्गो–इन–ट्रान्जिटको हकमा सडक परिवहन तथा राजमार्ग मन्त्रालयको प्रचलित नियमावली अनुसार दुई एक्सल सवारीसाधनका लागि अधिकतम एक्सल तौल १८.५ टन र तीन एक्सेल सवारीसाधनका लागि २८ टनको एक्सल तौल नेपाली सवारीसाधनका हकमा पनि लागु गर्न सकिने कुरामा सहमति जनाएको दूतावासको विज्ञप्तिमा उल्लेख छ । 

यस्तै बैठकमा नेपाली पक्षको अनुरोधमा प्रतिक्रिया जनाउँदै भारतीय पक्षले भारतको प्लान्ट क्वारेन्टाइन अर्डरमा सालको बीउ र इस्कुसलाई समावेश गरिएको जानकारी गराएको थियो । 

यस्तै प्रशोधित वस्तु (वनस्पति पैदावर)को सूचीमा जटामसी–जरा एक्सट्रयाक्ट, सुगन्धकोकिला बेरी एक्सट्रयाक्ट, सुगन्धवाल राइजोम (मोटो जरा) एक्सट्रयाक्ट र टिमुर बेरी एक्सट्रयाक्टलाई समावेश गर्ने अनुरोधलाई पनि स्वीकार गरिएको छ ।

यस्तै बैठकमा भारतीय पक्षले नेपालतर्फ दूध निर्यातमा देखिएका समस्याबारे जानकारी गराएको थियो । नेपालमा पर्याप्त मात्रामा उत्पादन नहुने मोही, चीज लगायतका दुग्धजन्य पदार्थका लागि भारतीय पक्षको अनुरोधलाई नेपाली पक्षले सकारात्मक तवरले विचार गर्ने सहमति जनाएको दूतावासले जनाएको छ । 

राजधानीमा पुस २६ र २७ गते भएको बैठकमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारत सरकारको वाणिज्य मन्त्रालयका वाणिज्य सचिव सुनिल बर्थवालले गरेका थिए । यस्तै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीले गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्