
म्याद सकिएको खाद्यपूरक तथा डाइट सप्लिमेन्ट सामग्रीमै नयाँ उत्पादन मिति राखेर बेच्ने गरेको पाइएको छ । म्याद सकिएको खाद्यपूरक सामग्री (न्यूट्रास्युटिकल)मा नयाँ उत्पादन मिति राखेर बिक्री गर्न बजारमा पठाउने गरेको पाइएको हो ।
न्यूट्रास्युटिकल एसोसिएसन मोरङका अध्यक्ष विपिन झाले विराटनगर–६ स्थित आफ्नै घरको गोदामबाट म्याद सकिएको न्यूट्रास्युटिकलमा नयाँ लेभल लगाएर बिक्री वितरणको लागि बजारमा पठाउने गरेका खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङ र राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीले आइतबार दिउँसो झाको घरमा छापा हानेर ठूलो परिमाणको न्यूट्रास्युटिकल बरामद गरेको छ ।
झाले न्यूट्रास्युटिकल बजार पठाउन घरको भुइँ तला र दोस्रो तलाका तीन वटा कोठालाई गोदाम बनाएका थिए । गोदाममा १४ भन्दा बढी प्रकारका न्यूट्रास्युटिकल र अन्य विभिन्न कम्पनीको मल्टिभिटानिहरू फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
मोरङ प्रहरीका प्रहरी निरीक्षक सरोज खनाल र राजस्व कार्यालय इटहरीका अनुसन्धान अधिकृत रामप्रसाद लुइटेल नेतृत्वको टोलीले झाको घरमा छापा हानेर म्याद सकिएको खाद्यपूरक सामाग्री बरामद गरेको हो ।
प्रहरीले खाद्यपूरक सामाग्रीमा छाप लगाउने ४० वटा स्ट्याप पनि बरामद गरेको जनाएको छ । बरामद गरेको खाद्यपूरक सामग्रीहरूको अहिलेसम्म बिलबिजक नदेखिएकोले भन्सार छलेर आयात गरेको अनुमान रहेको उनले बताए । कार्यालयले प्रज्ञापन पत्र र बिलबिजक माग गर्दा सञ्चालकले देखाउन नसकेको उनको भनाइ छ । झालाई सोमबार कार्यालयमा हाजिर हुन कार्यालयले पत्र पठाएको छ ।
न्यूट्रास्युटिकल एसोसिएसन मोरङका अध्यक्ष रहेका झाले एक दशक अगाडिदेखि नै न्यूट्रास्युटिकल आयात गरेर सप्लायर्स चलाउँदै आएका छन् । उनले साक्षी मेडिलिङ्कमार्फत् भारतबाट न्यूट्रास्युटिकल सस्तोमा ल्याउने र दश गुणा बढी मूल्य तोकेर बजारमा पठाउने गरेको पाइएको हो ।
‘कतिपय न्यूट्रास्युटिकल भन्सारबाट राजस्व तिरेर ल्याउने गरेका छन् । त्योभन्दा धेरै भरिया प्रयोग गरेर तस्करी गरि ल्याउने गरेको पाइएको छ,’ एक अनुसन्धान अधिकृतले भने, ‘तस्करी गरेर न्यूट्रास्युटिकल ल्याउने भरियालाई पक्राउ गरेपछि थप अनुसन्धान गर्दै जाँदा झाको सप्लायर्समा छापा हानिएको हो ।’
म्याद सकिएको न्यूट्रास्युटिकलमा पुनः नयाँ स्टिकर, उत्पादन मिति र मूल्य राखेर बजारमा पठाउने गरेको पाइएको उनले बताए । झाले म्याद सकिएको न्यूट्रास्युटिकलको उत्पादन मिति र म्याद सकिएको मिति मेटाउन केमिकल पनि प्रयोग गर्ने गरेको पाइएको अनुसन्धानमा खटिएका अनुसन्धान अधिकृतहरूले बताएका छन् ।
झाले भारतमा ५० रुपैयाँ पत्तामा खरिद गर्ने न्यूट्रास्युटिकल यहाँ ल्याएर आफैं मूल्य तोकेर पाँच सय रुपैयाँसम्ममा बिक्री गर्ने औषधि व्यवसायीहरूले नै बताएका छन् । झाको यो कारोबारमा केही चिकित्सकहरूको पनि मिलेमतो रहेको बताइएको छ । झाले भने नष्ट गर्ने तयारी गरिएको न्यूट्रास्युटिकल प्रहरी र राजश्वको टोलीले बरामद गरेको दाबी गरेका छन् ।