
वैदेशिक रोजगारका लागि क्रोएसिया पठाउने भन्दै १५ लाख रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भोजपुरको साल्पासिलिछो गाउँपालिका-५ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका-२ बस्ने २९ वर्षीय निम पासी शेर्पा रहेका छन् ।
उनले दुई जना व्यक्तिलाई क्रोएसिया पठाउने भनेर १५ रूपैयाँ ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो ।
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि क्रोएसिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेपश्चात विदेश नपठाई सम्पर्कविहीन भएको उजुरीपछि प्रहरीले उनको खोजी थालेको थियो ।
पक्राउ परेका शेर्पालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए ।