०८ असार २०८३, सोमबार

महिलाले दिइन् जुम्ल्याहालाई जन्म, तर पिता हुन् फरक फरक

महिलाले दिइन् जुम्ल्याहालाई जन्म, तर पिता हुन् फरक फरक

काठमाडौं, १ मंसिर — अमेरिकाको क्यालिफोर्नियामा एक महिला गर्भवती भएकै बेलामा फेरि गर्भवती भएकी छन् । अचम्मको कुरा त गर्भमा रहेका दुई बच्चाका पिता फरक फरक हुन् ।

जेसिका एलन नामक महिलाले एक चिनियाँ जोडीका लागि सरोगेट मदर बन्न सहमति जनाइन् । अप्रिल २०१६ मा आईभीएफमार्फत भ्रूण विकसित गरियो र त्यसलाई एलनको गर्भाशयमा इम्प्लान्ट गरियो । 

यसरी गर्भवती भएकी एलनको छैठौं हप्तामा चिकित्सकहरूले कोखमा जुम्ल्याहा बच्चा रहेको पत्ता लगाए । बच्चा जन्मेको एक महिनामा हेर्दा दुवै बच्चा एकैजस्तो नदेखिने गरेको पत्ता लाग्यो । जुम्ल्याहा त उस्तै देखिनुपर्ने हो । 

पछि डीएनए टेस्ट गर्दा एलनको एक बच्चा जैविक सन्तान थियो भने अर्को चाहिँ चिनियाँ जोडीको थियो । 

मेडिकल साइन्समा यसलाई सुपरफिटेसन भनिन्छ । गर्भवती अवस्थामै गर्भवती हुने यस्तो स्थिति एकदम दुर्लभ हुन्छ । 

खासमा शरीरमा भएका कैयौं कुराले गर्भवती महिलालाई त्यही बेलामा फेरि गर्भवती हुन रोक्छन् । शरीरमा बनेका हर्मोनका कारण ओभरीहरूले अण्डा रिलिज गर्न पाउँदैनन् । 

एलनका अनुसार, उनका पहिले नै दुई बच्चा छन् । उनी काममा नगएर घरमै बसी आफ्ना दुई बच्चाको स्याहार गरिरहेकी थिइन् । 

त्यतिबेला उनलाई सरोगेट मदर बन्ने प्रस्ताव आयो र उनले स्वीकारिन् । चिनियाँ जोडीको बच्चा पेटमा हुँदा नै उनले आफ्नो साथी वार्डेल ज्यास्परसँग सम्बन्ध बनाइन् । 

नियमित चेकअपका लागि उनी चिकित्सककहाँ जाँदा जुम्ल्याहा बच्चाको आमा बन्न लागेको थाहा पाइन् । चिनियाँ जोडी पनि दुईदुईवटा बच्चा पाइने भो भनी खुशी भयो । उनीहरूले एलनको फीस पनि बढाइदिए । 

जन्मिनेबित्तिकै चिनियाँ जोडीले बच्चाहरूलाई आफैंसँग लगे । एक महिनापछि हेर्दा त दुई बच्चाको अनुहार मिलेको देखिएन । चिनियाँ महिलाले एलनलाई सन्देश पठाएर यसको जानकारी दिइन् । 

बच्चाहरूको डीएनए टेस्ट गर्दा पो एउटा बच्चा एलन र ज्यास्परको भएको पत्ता लाग्यो । त्यसपछि चिनियाँ जोडीले एलनको बच्चा अपनाउन चाहेन र पैसा फिर्ता माग्न थाल्यो ।

बच्चाको कानूनी मातापिता भएकाले चिनियाँ जोडीले धर्मपुत्रका रूपमा दिन चाह्यो । तर कानूनी लडाईंपछि एलनले बच्चा पाइन् । 

अहिले एलन र उनका पति तीनै बच्चाका साथ खुशी छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्