१९ असार २०८३, शुक्रबार

मंसिर १० र २१ गते सार्वजनिक बिदा दिन आयोगको प्रस्ताव

मंसिर १० र २१ गते सार्वजनिक बिदा दिन आयोगको प्रस्ताव

काठमाडौँ, १ मंसिर - निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मतदात हुने  दिन यही मङसिर १० गते र दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा मतदान हुने दिन मङ्सिर २१ गते सार्वजनिक विदा दिन सरकारसँग आग्रह गरेको छ ।

आयोगले मतदानका दिन सार्वजनिक यातायातका साधन सञ्चालन नहुने र अधिकाश कर्मचारीहरू निर्वाचन सञ्चालन एवम् व्यवस्थापनमा खटिने भएको हुँदा मतदानका दिन सरकारी कार्यालय, अर्धसरकारी कार्यालय र सार्वजनिक संस्थानमा सार्वजनिक विदा दिन आयोगले गृह मन्त्रालयलाई पत्र पठाई आग्रह गरेको हो ।


आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मङसिर ७ देखि १० गतेसम्म र दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा मङ्सिर १८ देखि २१ गतेसम्म सार्वजनिक तथा संस्थागत विद्यालय र क्याम्पसहरूमा सार्वजनिक विदा दिन समेत सरकारसँग आग्रह गरेको प्रवक्ता नबराज ढकालले जानकारी दिए ।

निर्वाचनमा अधिकाँश मतदान केन्द्र सामुदायिक तथा संस्थागत विद्यालय तथा क्याम्पसमा रहेका र मतदान कार्यको व्यवस्थापन कार्यका लागि खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू मतदान हुने दिनभन्दा तीन दिन अगाडि नै मतदान केन्द्रमा पुग्ने भएकाले विद्यालय तथा क्यापसहरूमा दुबै चरणको निर्वाचनमा चार चार दिन विदा दिन आयोगले सरकारसँग आग्रह गरेको हो ।


पहिलो चरण र दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन केन्द्रहरू सामुदायिक एवं संस्थागत विद्यालय र क्याम्पस भवन तथा परिसर, स्थानीय तहका कार्यालय भवन, वडा कार्यालय, स्वास्थ्य चौकी, कृषि सेवा केन्द्र र पशुसेवा केन्द लगायतका सार्वजनिक भवन तथा परिसरहरूमा रहेका हुँदा पहिलो चरणमा निर्वाचन हुने जिल्लामा मङ्सिर ७ देखि १० गतेसम्म र दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरुमा मङसिर १८ देखि २१ गतेसम्म उल्लेखित भवन तथा कार्यालयहरु निर्वाचन प्रयोजनका लागि उपलब्ध गराउन आयोगले सरकारसँग आग्रह गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्