
सिन्धुपाल्चोक, १ मंसिर – राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले सिन्धुपाल्चोकका जनताको विकासको आकांक्षा पूरा गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् । सिन्धुपाल्चोकमा आफूले शुरु गरेको विकासको गति रोकिएकाले आफूले उम्मेदवारी दिएको राणाले दाबी गरे ।
चुनावी प्रचारका लागि सिन्धुपाल्चोकमा भेटिएका राणाले आफ्ना प्रतिस्पर्धी एमालेका शेरबहादुर तामाङले चुनाव नजित्ने दाबी गरे । आफूले सुविधाजनक बहुमत ल्याउने दाबी गर्दै सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभाका उम्मेदवार राणाले भने, ‘चुनाव जित्ने यथेष्ट कारण मसँग छ ।’
चुनाव प्रचारका लागि नायिका रेखा थापासहित सिन्धुपाल्चोक पुगेका राणाले जनताको मागअनुसार नै आफू चुनाव लड्न आएको बताए ।
‘शारीरिक रुपले म वृद्ध भएँ होला, तर जनताको सेवा गर्न म तन्दुरुन्त छु’ उनले भने । २०३१ सालदेखि पञ्चायतमा समेत गरी १० औं पटक चुनाव लड्दै गरेका राणाले यस क्षेत्रबाट सातपटक चुनाव जितिसेकका छन् ।
संविधानसभाका दुवै चुनावमा भने उनी पराजित भएका थिए ।