२२ असार २०८३, सोमबार
मध्य पूर्वमा शान्तिको संकेत

१५ महिनापछि गाजामा युद्धविराम : लाखौं विस्थापित घर फर्किने, तीन चरणमा बन्धक आदानप्रदान हुने

माघ ३, २०८१
काठमाडौं
१५ महिनापछि गाजामा युद्धविराम : लाखौं विस्थापित घर फर्किने, तीन चरणमा बन्धक आदानप्रदान हुने

इजरायल र हमासबीच युद्धविराम गर्ने सहमति भएको छ । १५ महिनादेखि गाजामा जारी युद्ध अन्त्य गर्न दुवै पक्ष सहमत भएका हुन् । इजरायल र हमासबीच कतारमा भएको सम्झौतालाई अन्तिम रूप दिइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । कतार र इजिप्टका मध्यस्थकर्ताहरूलाई हमासले युद्धविराम सम्झौतालाई अनुमोदन गरेको हमासका एक अधिकारीले जानकारी दिएको बीबीसीले जनाएको छ । सम्झौताको औपचारिक घोषणा भने गरिएको छैन ।

सम्झौता आइतबारदेखि लागू हुने समाचारमा उल्लेख छ । गाजामा हमास र इजरायलबीच ७ अक्टोबर २०२३ देखि युद्ध चलिरहेको थियो । हमासले अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गर्दा २५१ जनालाई बन्धक बनाएको थियो । हमाससँग हाल ९४ इजरायली बन्धक छन् । त्यसपछि इजरायलले जवाफी कारबाही शुरू गरेको थियो । 

हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गरी १२ सय बढीको ज्यान लिएको थियो भने २५१ जनालाई बन्धक बनाएर गाजातर्फ लगेको थियो । इजरायलले अझै पनि ९४ जनालाई हमासले बन्धक बनाएको छ जसमध्ये ३४ जनाको मृत्यु भएको अनुमान गरिएको छ । इजरायलले ६० जना मात्र जीवित रहेको विश्वास गर्छ । नेपाली विद्यार्थी विपिन जोशीसमेत हमासको बन्धक बनेका छन् । 

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायलको आक्रमणबाट अहिलेसम्म ४६ हजार बढी प्यालेस्टाइनीहरू मारिएका छन् ।

सम्झौताले लाखौं विस्थापितलाई घर फर्कन अनुमति दिनेछ भने बन्धकहरूलाई रिहाइ गरिने छ । 

सम्झौताअनुसार पहिलो चरणमा हमासले ५० वर्षभन्दा माथिका महिला, बालबालिका र पुरुषसहित ३३ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने छ ।

स्थायी युद्धविराम र गाजाबाट इजरायली सेनाको फिर्ती सम्झौतामा उल्लेख रहेको बीबीसीले जनाएको छ ।

इजरायल र हमासबीच गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइका लागि भएको सम्झौताप्रति दुवै पक्षले प्रतिक्रिया जनाएका छन्।

हमासका मुख्य वार्ताकार खलील अल-हयाले भने, 'युद्धको क्रममा गाजामा भएको पीडाका लागि समूहले इजरायललाई माफ गर्ने छैन । सबै पीडितहरूको तर्फबाट रगतको प्रत्येक थोपा र पीडाको प्रत्येक आँसु हामी बिर्सने छैनौं।'

उनले इजरायल यस क्षेत्रमा आफ्नो सैन्य कारबाहीको लक्ष्य हासिल गर्न असफल भएको बताए।

इजरायलका राष्ट्रपति इसाक हर्जोगले प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनको वार्ता टोलीले यो सम्झौतालाई अन्तिम रूप दिने प्रयासलाई समर्थन गर्ने बताएका छन्।

उनले यसलाई स्वीकार गर्न मन्त्रिपरिषद् र सरकारलाई आग्रह गरे । इजरायली मन्त्रिपरिषद्ले मतदान मार्फत सम्झौता अनुमोदन गर्नुपर्छ ।

१५ महिनापछि ठूलो सफलता

१५ महिनादेखि जारी युद्धपछि दुवै पक्षबीच भएको सहमतिलाई ठूलो सफलता मानिएको छ । तर, दुई पक्षबीच भएको सहमतिको विवरण अहिले आदान प्रदान गरिएको छैन । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अझै पनि धेरै पक्षहरू आफूले हेरिरहेको बताएका छन्।

सम्झौताअन्तर्गत इजरायलले करिब एक हजार प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने सम्भावना छ । तिनीहरूमध्ये केही धेरै वर्षदेखि इजरायली जेलमा छन् ।

तीन चरणमा अघि बढ्ने
सहमतिको घोषणापछि यो युद्धविराम तीन चरणमा अघि बढ्नेछ । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले यो सम्झौतालाई मन्त्रिपरिषद्ले अनुमोदन गरेमा आइतबारदेखि लागू हुने बताएका छन् ।

सम्झौताको जानकारी दिँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो चरण ६ हप्तासम्म चल्ने र ‘पूर्ण युद्धविराम’ हुने बताएका छन् ।

बाइडेनले सम्झौताअन्तर्गत हमासले बन्धकहरूलाई रिहा गर्ने र इजरायलले प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने बताए।

तर बाइडेनले हमासले कति जना बन्दी रिहा गर्न लागेका छन् भन्ने बताएनन्। तर कतारका प्रधानमन्त्री अल थानीले बुधबार साँझ पत्रकार सम्मेलनमा यो संख्या ३३ हुने बताए ।

इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सरले यसअघि रिहा हुने सम्भावना रहेका ३३ बन्धकमध्ये बालबालिका पनि रहेको बताएका थिए ।

एक प्यालेस्टिनी अधिकारीले तीन जना बन्धकहरूलाई तुरुन्तै रिहा गरिने र बाँकी प्यालेस्टिनी कैदीहरूसँग आदानप्रदान आगामी छ हप्तामा हुनेछ।

इजरायली सेना गाजाका सबै जनसंख्या भएको क्षेत्रबाट फिर्ता हुनेछ। साथै, प्यालेस्टिनीहरू पनि गाजाका सबै क्षेत्रहरूमा आफ्नो घर फर्कन सक्षम हुनेछन्।

इजरायली आक्रमणका कारण गाजाका करिब २३ लाख मानिस घरबारविहीन भएका छन् । युद्धविरामपछि यी मानिसहरू आफ्नो घर फर्कन सक्नेछन् ।

यसबाहेक गाजामा मानवीय सहायता पनि बढ्नेछ र त्यहाँ दैनिक सयौं ट्रकहरू पुग्न अनुमति दिइनेछ।

युद्धविरामको १६औं दिनमा दोस्रो र तेस्रो चरणको वार्ता शुरू हुने प्यालेस्टिनी अधिकारीले बताएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपतिले दोस्रो र तेस्रो चरणको वार्ता जारी रहेसम्म युद्धविराम जारी रहने बताए ।

बाइडेनका अनुसार दोस्रो चरणको उद्देश्य ‘युद्धको स्थायी अन्त्य’ हुनेछ। यस चरणमा बाँचेका बाँकी बन्धकहरू र तिनीहरूको ठाउँमा प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिनेछ।

तेस्रो र अन्तिम चरणमा गाजाको पुनर्निर्माण समावेश हुनेछ । यो धेरै वर्ष लाग्न सक्छ। यस चरणमा हमासको हिरासतमा मारिएका बन्धकहरूको शव पनि इजरायललाई हस्तान्तरण गरिनेछ।

अझै आशंका
सहमतिपछि यो पनि स्पष्ट छैन कि इजरायल एक निश्चित मितिमा बफर जोनबाट बाहिर निस्कन सहमत हुनेछ वा बफर जोनमा यसको उपस्थिति अनिश्चित कालसम्म जारी रहनेछ। विगतमा छिटपुट झडपपछि इजरायल र हमासबीचको युद्धविराम तोडिएको थियो ।

यो युद्धविरामको समयतालिका र यसको जटिलताले सानो घटनाले पनि फेरि युद्ध शुरू हुन सक्छ।

अमेरिका र कतारले सम्झौताको घोषणा गरिसकेका छन् तर इजरायलको मन्त्रिपरिषद्बाट अनुमोदन हुन बाँकी छ । बिहीबार बिहान मन्त्रिपरिषद्को महत्वपूर्ण बैठक बस्ने भएको छ ।

सम्झौताको दोस्रो चरणमा जानेबारे सोधिएको प्रश्नमा कतारका प्रधानमन्त्री अल थानीले आफूलाई यसमा पूर्ण विश्वास रहेको तर सबै कुरा दुवै पक्षमा भर पर्ने बताए ।

गाजामा कसले शासन गर्ने ?
युद्धविराम पछि गाजामा कसले शासन गर्ने भन्ने सबैभन्दा ठूलो अनुत्तरित प्रश्न हो।
बुधवार सम्झौताको घोषणा हुनुअघि प्यालेस्टाइनी प्रधानमन्त्री मोहम्मद मुस्तफाले प्यालेस्टाइनी प्राधिकरणलाई गाजामा कानून अनुसार शासन गर्ने अधिकार रहेको बताएका थिए।

इजरायलले हमासलाई गाजामा शासन गरोस् भन्ने चाहँदैन।

तर इजरायल पनि प्यालेस्टाइनी अथोरिटीले गाजामा शासन गरोस् भन्ने चाहँदैन। यो अख्तियारले इजरायलले कब्जा गरेको वेस्ट बैंकका केही भागहरू नियन्त्रण गर्दछ। र इजरायल पनि द्वन्द्व समाप्त भएपछि पनि गाजामा सैन्य नियन्त्रण हुनुपर्छ भन्ने चाहन्छ।

इजरायलले गाजालाई चलाउन अस्थायी प्रशासनको योजनाका लागि अमेरिका र कतारसँग छलफल गरिरहेको छ। यो नयाँ संरचनाले गाजामा स्थायी सरकारको रूप लिन सक्छ।

salt training

कमेन्ट गर्नुहोस्