२५ असार २०८३, बिहीबार

मौलिक पोसाक भाडामा लगाएर आम्दानी

माघ ३, २०८१
काठमाडौं
मौलिक पोसाक भाडामा लगाएर आम्दानी

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका स्थानीयवासीले गाउँमा घुम्न आउने पर्यटकलाई विभिन्न जातीय समुदायको पोसाक भाडामा लगाएर आम्दानी गर्न थालेका छन् । 

अहिले तोरी फुलेर मनमोहक बनेको रत्नेचौरमा रमाउन आउने पर्यटकहरूले मगर, क्षेत्री, थकाली, ब्रह्माणलगायत जातजातिको पोसाक लगाएर तस्वीर, श्रव्य दृश्य खिच्ने गर्दछन् । पर्यटकलाई जातजातिको मौलिक पोसाक भाडामा लगाएर स्थानीयले आम्दानी गर्न थालेका हुन् । 

स्थानीय रामकृष्ण पुनले एक जोडा पोसाक एक घण्टा प्रयोग गरेबापत रु दुई सयदेखि तीन सय ५० सम्म लिने गरेको बताए । 'मसँग १५ जोर मगर ड्रेस छन्,' उनले भने, 'दिनमा १० देखि १५ जनाले भाडामा लैजानु हुन्छ ।' 

रेस्टुरेन्ट सञ्चालकसमेत रहेका थापाले पर्यटकको तस्वीर पनि खिचिदिने गरेका छन् । एउटा तस्वीर खिचेबापत रु २० लिने गरेको थापाले बताए ।​​

रत्नेचौरमा महिला सहकारी संस्था र अन्य रेस्टुरेन्ट तथा पसलहरूले पनि जातीय पोसाक भाडामा लगाउने गरेका छन् । आकर्षक देखिने भएकाले जातीय पोसाक पर्यटकको रोजाइमा पर्ने गरेको छ । बागलुङबाट रत्नेचौर आएकी स्मृति रानाले मौलिक पोसाकमा सजिएर खिचेको तस्बिर र बनाएको भिडियो स्मरण योग्य भएको बताइन् ।

केही वर्ष अघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित रत्नेचौर पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ । कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ ।

कात्तिक–मङ्सिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको दृश्यावलोकन तथा पुस–माघमा पहेँलै फुलेको तोरीको आकर्षक दृश्य हेर्दै रमाउन र वनभोज खान आउनेको भीड लाग्ने गरेको वडाध्यक्ष टेकबहादुर थापाले बताए । 

यहाँ दैनिक तीन सयदेखि पाँच सय जना आउने गरेका स्थानीय कुशल शर्माले बताए । 

पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बीचमा चिटिक्क परेको कालोपत्र सडकमा रमाउन पर्यटक आउने गरेका हुन् ।

रत्नेचौर र बागलुङको कुडुले (फेदी) जोड्ने तीनसय ८८ मिटर लामो झोलुङ्गे पुल पनि यहाँ आउने पर्यटकका लागि अर्को आकर्षणको केन्द्र हो ।

salt training

कमेन्ट गर्नुहोस्