०१ साउन २०८३, शुक्रबार

फेसबुकमा चिनजानका भरमा प्रेम, कुरा बिग्रिएपछि नसोचेको तनाब

माघ ३, २०८१
काठमाडौं
फेसबुकमा चिनजानका भरमा प्रेम, कुरा बिग्रिएपछि नसोचेको तनाब

सामाजिक सञ्जाल फेसबुकमा चिनजान भएकै भरमा एक युवतीले श्रीकृष्ण कार्कीसँग प्रेम सम्बन्ध गाँस्छिन् । प्रगाढ प्रेममा परेका कार्की र युवतीले सहमतिमै अन्तरंग तस्वीर र भिडियो खिच्छन् । 

त्यतिबेला अश्लील तस्वीर बाहिरिने डर दुवैमा हुँदैन । एकाएक युवती र कार्कीबीचको प्रेम सम्बन्धमा फाटो आउँछ । कार्कीले ती युवतीसँग लिएका अश्लील फोटो र भिडियो उनका आफन्त र साथीहरूलाई पठाइदिन्छन् । आफन्तले युवतीलाई उक्त तस्वीर र भिडियोका सम्बन्धमा सोधीखोजी गरेपछि युवती प्रहरीको शरणमा पुग्छिन् ।

भोटाहिटीस्थित साइबर ब्यूरोमा ती युवतीले जाहेरी दिएपछि प्रहरीले कार्कीलाई पक्राउ गरेको छ । रामेछापको खाँडादेवी गाउँपालिका–८ धुलेबेसी घर भएर काठमाडौं महानगरपालिका–१३ बस्ने कार्कीविरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३  अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । 

साइबर ब्यूरोमा अर्को त्यस्तै घटना दर्ता भएको छ । एक महिलाले भोजपुर षडानन्द नगरपालिका–५ घर भएर बौद्ध बस्ने सरोज कटुवालसँग प्रेम सम्बन्ध राख्छिन् । कटुवालले ती महिलाकै सहमतिमा अश्लील फोटो र भिडियो खिच्छन् । महिलासँगको सम्बन्धमा खटपट भएपछि कटुवालले पहिला खिचेका फोटो र भिडियो महिलाकै बहिनीको मोबाइलमा पठाइदिन्छन् । महिला उजुरी लिएर ब्यूरोमा पुग्छिन् ।

प्रहरीले कटुवाललाई समेत पक्राउ गरेको छ । उनीविरुद्ध पनि विद्युतीय कारोबार ऐन, २०६३  अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ ।

ब्यूरोका प्रवक्ता एवं एसपी दीपक राज अवस्थीका अनुसार सामाजिक सञ्जालमा चिनजानकै भरमा प्रेम सम्बन्धमा गाँसिने र सम्बन्धमा खटपट भएपछि अश्लील तस्वीर बाहिर ल्याउने प्रवृत्ति बढ्दो छ  । ब्यूरोमा उजुरी आए अनुसार पीडकलाई कारबाहीको दायरामा ल्याइएको एसपी अवस्थी बताउँछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्