०६ साउन २०८३, बुधबार

आउँदो स्थानीय चुनावमा कम्तीमा २५० पालिका जित्छौं, पहिलो पार्टी बन्छौं : प्रचण्ड

माघ ५, २०८१
विराटनगर
आउँदो स्थानीय चुनावमा कम्तीमा २५० पालिका जित्छौं, पहिलो पार्टी बन्छौं : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा २५० पालिका जितेर माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने बताएका छन् । 

नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका-५ तेतेरियामा शनिबार गरेको धन्यवाद ज्ञापन तथा खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो उद्घोष गरेका हुन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादीलाई उपनिर्वाचनमा ग्रामथानवासीले पहिलो बनाएर पालिका अध्यक्षमा जिताउनु रणनीतिक महत्त्वको विषय भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले २०७९ को निर्वाचनमा १२२ पालिकामा प्रमुख तथा अध्यक्ष जितेका थियौं । अब ग्रामथान थपिएपछि यो संख्या १२३ पुगेको छ । आगामी स्थानीय तह निर्वाचनमा २५० भन्दा बढी पालिकामा जीत हात पारेर माओवादी पहिलो पार्टी बन्छ, यो हामीलाई उपनिर्वाचनले दिएको महत्त्वपूर्ण सन्देश हो ।’ 

देशमा माओवादी केन्द्रकै कारण आमउत्पीडित जनताले अधिकार पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यसलाई कार्यान्वयन गर्दै देशबाट भ्रष्टाचारको जरा उखेलेर भ्रष्टाचारीलाई लखेट्नका लागि फेरि एकपटक माओवादी केन्द्रलाई बहुमत दिन आग्रह गरे। 

‘हामीले २०६४ मा जनताको मत पाएर पनि पार्टीलाई एकताबद्ध राख्न सकेनौं । जनताको विश्वास कायम राख्न नसकेकै हौं’, उनले भने, ‘त्यतिबेलाको जनमत र आजको जस्तो हाम्रो सुझबुझपूर्ण चेतना र शैली मिल्यो भने अब हामी नेपाललाई राजनीतिक परिवर्तनको पूर्ण अनुभूति गराउने छौं, हामी धेरै कुरा सम्झेर तपाईंहरूसमक्ष आएका छौं, तपाईंहरूलाई पनि २०६४ साल सम्झिदिन अपिल गर्दछु ।’

आफूले गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्त्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ऋण मोचनजस्ता काम गरेको प्रचण्डले बताए । 

‘दोस्रोपटक सरकारको नेतृत्व गर्दा हामीले राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन गर्न सक्यौं भने नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व पनि गर्‍यौ’, प्रचण्डले भने । 

आफूले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको प्रमुख बनाएपछि नेपाल लोडसेडिङमुक्त भएको उल्लेख गर्दै अहिले ‘चोरलाई चौतारो, साधुलाई सुली’ भनेजस्तै सरकारले उनै कुलमानलाई निकाल्न खोजेको भन्दै प्रचण्डले आपत्ति जनाए । 

उनले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमार्फत सरकारको तेस्रो कार्यकाललाई नयाँ ढंगले बढाउँदा पार्टी र आन्दोलनमा नै पुनर्जागरण शुरू भएको स्पष्ट पारे । ‘सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोही भए पनि कारबाही गर्ने प्रक्रियाको थालनी गरियो । यो नै आम जनताका लागि आशाको दियो बन्न पुग्यो’, उनले भने, ‘माथिल्लो तहका नेताहरू, कर्मचारी र बिचौलियामाथिको कारबाहीले सुशासनको जग कायम गर्न मात्रै सहयोग गरेन, जनतामा पुनः आशा र विश्वास पनि पलाउन थाल्यो । यसले नै पार्टी र आन्दोलनलाई नयाँ शिराबाट अघि बढाउन पनि आधार तयार गरेको छ।’

सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान कदम कदममा अगाडि बढ्न थालेपछि बिचौलियाहरू तर्सेर रातारात षड्यन्त्र गरेर सरकार ढालेको दाबी गरे । अहिलेको सरकार सत्तारुढ दलहरूले नभई बिचौलियाले चलाइरहेको र सरकारमा रहेकाहरू उनीहरूका मुखौटा मात्रै भएको उनले टिप्पणी गरे । 

सरकारबाट बाहिरिएपछि आफूहरूले थालेका राम्रा काम लिएर जनताको बीचमा जाने प्रक्रिया शुरू गरेको प्रचण्डले बताए । 

salt training

कमेन्ट गर्नुहोस्