
सर्लाहीको हरिपुर क्षेत्रका जङ्गली हात्ती बस्ती पसेर बालीनालीमा क्षति पुर्याउन थालेपछि स्थानीय त्रसित बनेका छन् । हरिपुर नगरपालिका–१ हजारबिघा क्षेत्रमा किसानले लगाएका बालीनाली जङ्गली हात्तीले क्षति गरेको हो ।
तीनवटाको सङ्ख्यामा देखिएको जङ्गली हात्तीले किसानको खेतमा पसेर अन्न र उखुबाली नष्ट गरेको वडाध्यक्ष नानीबाबु थापाले जानकारी दिए । “गएराति एक्कासि गाउँ नजिकै जङ्गलबाट खेतमा हात्तीहरू पसेका हुन्”, उनले भने, “खेतमा लगाएको बालीनाली क्षति गरेपछि गाउँतिर आउँछ कि भन्ने चिन्तामा स्थानीय छन् । हामीले सुरक्षा निकाय र वन कार्यालयमा खबर गरेका छौँ ।”
वडाध्यक्ष थापाका अनुसार गएराति हात्तीले स्थानीय मुना लायो मगरको कच्ची घर पनि भत्काएको छ । दिनभर जङ्गलमा लुकेर बस्ने जङ्गली हात्ती रातको समयमा बस्ती नजिकैको खेतबारी र गाउँमा प्रवेश गरेर उपद्रो गर्ने गरेको उनको भनाइ छ ।