०८ साउन २०८३, शुक्रबार

एमालेमा फर्किने तयारीमा वामदेव, कुन पोजिसन पाउँदैछन् ?

माघ ६, २०८१
काठमाडौं
एमालेमा फर्किने तयारीमा वामदेव, कुन पोजिसन पाउँदैछन् ?

केही दिन अगाडिसम्म नेकपा एकीकृत समाजवादीमा जाने पक्का गरेका वामदेव गौतमले नेकपा एमालेमा फर्किने निष्कर्षमा पुगेका छन् ।

आफैंले समाजवादीमा फर्किने पक्का गरेको बताएको केही दिनमै गौतमले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्दै फर्किने तयारी गरेका हुन् ।

एकता अभियानका महासचिव डीबी कार्कीले वामदेव गौतमसहितको सिंगो अभियान नै एमालेमा समाहित हुन लागेको जानकारी दिए ।

‘नेकपा एकीकृत समाजवादीसँग वार्ता भएको थियो । उहाँहरूले राम्रै पदमा व्यवस्थापनको कुरा पनि गर्नुभएको थियो । तर जबज मान्नुपर्ने गौतम कमरेडको लाइनमा उहाँहरू तयार नभएपछि कुरा मिलेन,’ कार्कीले लोकान्तरसँग भने, ‘यस बीचमा एमाले अध्यक्षसँग वामदेव कमरेडको शुक्रबार भेटेरै कुराकानी भयो । आइतबार टेलिफोनमा पनि कुरा भयो । अब छिटोभन्दा छिटो एमालेमा हाम्रो अभियान समायोजन गर्ने समझदारी भएको छ ।’

पुस २७ गते एकता अभियान संयोजक गौतमको अध्यक्षतामा बसेको बैठकले एमालेमा जाने निर्णय गरेको उनले जानकारी दिए ।

‘पुस २७ गतेको हाम्रो बैठकले एमालेसँग एकता गर्ने निर्णय गरेको थियो । त्यसपछि एमाले नेता प्रदीप ज्ञवालीसहितका नेताबीच छलफल भयो । त्यसपछि शुक्रबार ओली र वामदेव कमरेडको भेट भयो । आइतबार टेलिफोनमा संवाद भएपछि एमालेमा समाहित हुने टुंगो लागेको हो ।’

अध्यक्ष ओलीले ऐतिहासिक पृष्ठभूमि हेरेर जिम्मेवारी दिने बताएको कार्कीले बताए । ‘पद, पैसा र प्रतिष्ठा भनेर होइन पार्टी बनाउन एकता गर्न लागेका हौं । सबैको क्षमता ऐतिहासिक पृष्ठभूमि हेरेर उचित जिम्मेवारी दिइन्छ भन्नुभएको छ,’ कार्कीले भने, ‘तोड्नलाई धेरै मान्छे लागेका छन् । तर वामदेव संरक्षक बन्नुहुन्छ । यो पटक टुंगोमा पुग्छ ।’

ढिलो चाँडो समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि एमालेमा लाने कार्की बताउँछन् । ‘एकीकृत समाजवादीसँग सुमधुर सम्बन्ध रहिरहन्छ । प्रचण्डलाई पनि सम्मान गर्छौं । उहाँको पनि वामपन्थी धार हो,’ कार्कीले भने, ‘एमाले सबैको मूलधार हो । ढिलो चाँडो माधव कमरेडहरूलाई पनि ल्याउँछौं ।’

एमाले अध्यक्ष ओली निकट स्रोतले पनि वामदेवसँग कुराकानी भएको जानकारी दियो । तर कुन पद हुने भन्ने टुंगो नलागेको उक्त स्रोतले जानकारी दियो ।

‘उहाँहरू पहिले पनि एमाले हो । अहिले आउन चाहनुभएको हो भने पनि ठिकै छ, आउनुहुन्छ,’ ओली निकट स्रोतले भन्यो, ‘तत्काल एमालेमा पोजिसन खाली छैन । कुन पोजिसन भन्ने महाधिवेशनले तय गर्ने हो । उहाँ तत्काल आए एमाले नेताको रूपमा रहनुहुन्छ ।’ 

संरक्षक, सल्लाहकार केही भूमिका दिने स्थिति भए पनि पदाधिकारी तहको भूमिका वामदेवले तत्काल नपाउने भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्