
राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन गर्न रोक लगाउनुपर्ने मागसहित दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
उक्त रिटमा बहस गरेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलका अनुसार आइतबार सर्वोच्चको पूर्ण इजलासले उक्त रिट खारेज गरेको हो । 'रिट खारेज गर्दै केही निर्देशनात्मक आदेश पनि जारी गरिएको छ,' उनले लोकान्तरसँग भने, 'के के निर्देशनात्मक आदेश भएको हो त्यसको विवरण भने अहिले आइसकेको छैन ।'
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासले रिट निवेदन खारेज गरेको हो ।
देशभर एकैसाथ राष्ट्रिय परिचयपत्र लागू गर्दा सेवाग्राहीहरू मारमा पर्न सक्ने भन्दै अधिवक्ता रामबहादुर राउतले उक्त निर्णय कार्यान्वयन नगर्न/ नगराउन माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए ।