०६ साउन २०८३, बुधबार
किशोरी बलात्कार प्रकरण

कारागारमा हुनुपर्ने बिर्तामोडका पूर्वमेयर झण्डै डेढ महिनादेखि अस्पतालको भीआईपी क्याबिनमा

माघ ९, २०८१
विराटनगर
कारागारमा हुनुपर्ने बिर्तामोडका पूर्वमेयर झण्डै डेढ महिनादेखि अस्पतालको भीआईपी क्याबिनमा

आफ्नै घरमा काम गर्ने किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार सिवाकोटी डेढ महिनादेखि अस्पतालमै छन् । अदालतले पुर्पक्षको लागि थुनामा पठाए पनि उनी भने एक महिनादेखि अस्पतालको भीआईपी कक्षमै बसेर दिन बिताइरहेका छन् ।

गत पुस २२ गते जिल्ला अदालत झापाले उनलाई पुर्पक्षका लागि झापा कारागार चलान गरेको थियो । तर, नेकपा एमालेका नेतासमेत रहेका पूर्वमेयर सिवाकोटी एक दिन पनि कारागार बसेका छैनन् ।

उनी अनुसन्धानका क्रममा प्रहरीले पक्राउ गरेपछि पनि हिरासतमा बसेका थिएनन् । मंसिर २४ गते पक्राउ परेको दिनदेखि नै उनी बिर्तामोडस्थित बीएन्डसी अस्पतालको भीआईपी क्याबिनमा बसिरहेका छन् । ‘राजनीतिक पहुँच र शक्तिको आड’मा हिरासत र कारागार नगई अस्पतालमै बसेको पीडित पक्षको गुनासो छ । 

सिवाकोटीको अस्पताल बसाइबारे मंगलबार प्रदेशसभा बैठकमा पनि प्रश्न उठेको छ । झापाकी सांसद सविना बजगाईंले अदालतको आदेशमा कारागार पठाइएका व्यक्तिलाई राजनीतिक पहुँचको आधारमा अस्पतालमै राखिएको भन्दै उनले आपत्ति जनाइन् । ‘राजनीतिक पहुँचको आडमा विभिन्न बहाना बनाएर सिवाकोटीलाई अस्पतालमै राखिएको छ,’ उनले भनिन्,  ‘यसबाट पीडित पक्ष चिन्तित छन् । सानालाई ऐन ठूलालाई चैन भनेजस्तो भएको छ ।’ बजगाईँ राप्रपा सांसद हुन् । 

२०७४ सालमा बुवाआमाको मृत्यु भएपछि सहाराविहीन भएकी भारतको आसाम बस्ने बालिकालाई उनकी हजुरआमाले सिवाकोटीको घरमा राखेकी थिइन् । नातिनीको लागि सहयोग माग्दै उनकी हजुरआमा २०७४ मा नगरपालिका पुग्दा भर्खरै मेयरमा निर्वाचित भएका सिवाकोटीले आफ्नै घरमा राखेर पढाउने भन्दै जिम्मा लिएका थिए ।

‘मेरो हजुरआमाको आर्थिक अवस्था एकदमै कमजोर भएकोले नगरपालिकाबाट केही राहत र सहयोग पाइन्छ की भनेर हजुरआमाले मलाई साथमा लिई बिर्तामोड नगरपालिकाको कार्यालयमा लिएर जानुभयो,’ पीडितले दिएको जाहेरीमा उल्लेख गरिएको छ

उनले सिवाकोटीलाई बुवा भनेर सम्बोधन गर्दै आएकी थिइन् । तर, बालिकालाई सिवाकोटीले पटक–पटक बलात्कार गरेको पीडितको जाहेरीमा उललेख छ । कक्षा ६ मा पढ्दादेखि नै सिवाकोटीले पटक–पटक बलात्कार गरेको पीडितले बयान दिएकी छन् । सिवाकोटीकी श्रीमती विदेश गएको बेला बलात्कार गरेको र कसैलाई सुनाएमा घरबाट निकालिदिने धम्की दिएको पीडितको भनाइ छ ।

स्कूलमा फी तिर्न र कापीकिताब किन्न पैसा माग्दा पनि सेक्स गर अनि मात्रै दिन्छु भनेपछि आफू बाध्य भएको पीडितले बताएकी छन् । सिवाकोटीले पोर्न भिडियो देखाएर आफूमाथि बलात्कार गरेको उनले बयानमा दिएकी छन् । ५ सय रुपैयाँ दिएरसमेत शिवाकोटीले  बलात्कार गरेको उनको बयान छ ।

पटक–पटक बलात्कारमा परेपछि पीडित बालिका गत मंंसिर २४ गते बिहान कलेज जान्छु भनेर सिवाकोटीको घरबाट निस्किएर भारत जान हिँडेकी थिइन् । 

ठुलीआमा भारतको आसममा बस्ने भएकोले उतै जाने सोच बनाएर हिँडेकी उनलाई काँकडभिट्टाबाट आफन्त नेपाल नामक संस्थाले उद्धार गरेको थियो । त्यसपछि सोधखोज गर्दा बलात्कारको पीडा सहन नसकेर उनी भारत जान खोजेको खुलेको थियो । पीडित किशोरी हाल १५ वर्षकी भइन् ।

संस्थाकै सहयोगमा पीडितले जाहेरी दिएपछि सिवाकोटी पक्राउ परेका थिए । तर, बलात्कार आरोपमा पक्राउ परेका पूर्वमेयर भने हिरासत नगई अस्पतालकै भीआईपी कक्षमा बसेका छन् । उनी अस्पताल बसेपछि निगरानीको लागि चार जना प्रहरी अस्पतालमा खटाउनु परेको छ ।

झापा कारागारका खरिदार नारायण गौतमका अनुसार सिवाकोटीको निगरानीका लागि चार जना प्रहरी अस्पतालमा राखिएको छ । अदालतमा सिवाकोटीले आफू बिरामी भएको बताएपछि इजलासले उपचारको व्यवस्था गर्नु भन्ने आदेश दिएको थियो । त्यही आदेशमा टेकेर सिवाकोटीले कारागार छलिरहेको आरोप छ ।

सिवाकोटीले २३ वर्षदेखि प्रेसर र ३७ वर्षदेखि सुगरको बिरामी भएको बयान दिएका थिए । पीडित किशोरीका आफन्तले भने सिवाकोटी सत्ता र शक्तिको आडमा हिरासत र कारागार नबसी अस्पतालमै बसिरहेको आरोप लगाउँदै आएका छन् ।

आरोपीलाई राज्यले संरक्षण गरेको भन्दै पीडित परिवारले राष्ट्रिय मानव अधिकार आयोगमा समेत उजुरी दिएका थिए । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश कार्यालयका मानव अधिकार अधिकृत डिल्लीराम लम्सालले पीडित परिवारबाट उजुरी आएको बताए । तर, त्यसबारे थप बुझ्ने काम भैरहेको उनले बताए ।

यस्तो छ अदालतको आदेश

 

salt training

कमेन्ट गर्नुहोस्