१० साउन २०८३, आइतबार

मकवानपुर ट्राफिकले ६ महिनामा सङ्कलन गर्‍यो १ करोड ३२ लाख राजस्व

माघ ९, २०८१
काठमाडौं
मकवानपुर ट्राफिकले ६ महिनामा सङ्कलन गर्‍यो १ करोड ३२ लाख राजस्व

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी जाँचमा कडाइ गरेपछि राजस्व सङ्कलनमा वृद्धि भएको छ । 

ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कडाइ गरेपछि चालू आर्थिक वर्ष २०८१/८२ को छ महिनाको अवधिमा रु एक करोड ३२ लाखभन्दा बढी राजस्व सङ्कलन भएको सो कार्यालयले जनाएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीका अनुसार चालू आवको साउनदेखि पुस मसान्तमा रु एक करोड ३२ लाख २४ हजार ५०३ राजस्व सङ्कलन भएको छ । 

सो अवधिमा विभिन्न किसिमका १७ हजार ४१ सवारी माथि कारबाही गरी सो राजस्व सङ्कलन गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए ।

यो अघिल्लो आर्थिक वर्षको सो अवधिको तुलनामा रु १६ लाख २० हजार ५०० बढी राजस्व सङ्कलन भएको हो । 

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को छ महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले १५ हजार ८५५ सवारी साधनमाथि कारबाही गरी रु एक करोड १६ लाख चार हजार राजस्व सङ्कलन गरेको थियो । 

यस्तै सो अवधिमा मकवानपुरमा भएको १९६ सवारी दुर्घटनामा २० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार यस अवधिमा भएका सवारी दुर्घटनामा परी ९४ जना गम्भीर घाइते भएका छन् ।

ट्राफिक जाँचमा गरिएको कडाइका कारण राजस्व सङ्कलनमा वृद्धि भएको प्रहरी निरीक्षक अधिकारीको भनाइ छ ।

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्