
काठमाडौं, ३ मंसिर– पार्टीका केन्द्रीय सदस्य तथा अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको निधनको खबर सुनेसँग माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् । वाम गठवन्धनका तर्फबाट गोरखा–२ का प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेका नेता श्रेष्ठ प्रकाशको निधनको खबर सुनेर चुनावी कार्यक्रम स्थगित गरेर काठमाडौं आएका हुन् ।
प्रकाश पार्थिव शरीर रहेको नर्भिक अस्पताल पुगेका नारायणकाजीका आँखामा आँसु देखिन्थ्यो । उनले सञ्चारकर्मीसँग कुनै प्रतिक्रिया दिन मानेनन् ।
प्रचण्डपुत्र प्रकाशको आइतवार विहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । हृदयधात भएर घरमै अचेत भेटिएका प्रकाशलाई विहान अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउनेवित्तिकै चिकित्सकहरुले उनको मृत्यु भइसकेको जनाएका थिए । यद्यपि अस्पताल प्रशासनले भने प्रकाशको निधन भएको औपचारिक घोषणा गरिसकेको छैन ।