काठमाडौँ । स्वदेशी उत्पादन तथा सेवाहरुको प्रवद्र्धन र व्यापार गर्ने उद्देश्यले बृहत् प्रदर्शनी आयोजना हुने भएको छ । भोलि माघ १० गतेदेखि १२ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सो मेला आयोजना हुन लागेको हो ।
मेलामा स्वदेशी उत्पादन र सेवाका साथै पश्मिना इन्टरनेशनल एक्स्पोको पनि आयोजना हुँदैछ । यो मेलालाई नेपाल पश्मिना उद्योग संघले आयोजना गरेको हो । मेलामा १५० भन्दा बढी स्वदेशी स्टलहरु रहने नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछानेले जानकारी दिए ।
मेलामा ४० भन्दा बढी शुद्ध नेपाली पश्मिनाका स्टलहरु, च्याङ्ग्रादेखि पश्मिनासम्मको प्रत्यक्ष निर्माण प्रक्रिया, स्वदेशी लुगा तथा पश्मिनाको फेशन शो र नेपाली रैथाने खानाका परिकारहरु रहने उनले बताए । मुस्ताङबाट च्याङ्ग्रा ल्याएर फाम टू फाइबर, फाइबर टू फेसन देखाउने उनको भनाइ छ । पश्मिना मेला नेपालमा पहिलो पटक आयोजना हुन लागेको हो । मेलामा ५० हजार भन्दा बढीले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।
नेपाल उद्योग परिसंघ (सिएनआई) मेलाको सहआयोजकका रुपमा रहेको छ । मेलालाई नेपाल सरकार उद्योग तथा वाणिज्य मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले प्रवद्र्धन गरेका छन् । मेलालाई राइजिङ नेपाल र इभेन्ट सन्सारले व्यवस्थापन गर्ने मेला व्यवस्थापक पशुपति केसीले जानकारी दिए ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले नेपाली पश्मिना पुरानो र नेपाली सीपमा आधारित भए पनि प्रचारप्रसार र व्यापार हुन नसकिरहेकोले यसको प्रवद्र्धन गर्नुपर्छ भनेर नै केन्द्रले मेलामा चासो राखेको बताए ।