
सहकारी ठगीको मुद्दामा थुनछेक बहसका लागि रास्वपा सभापति रवि लामिछाने रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका छन् ।
बुधबार बयान सकिएपछि बिहीबारबाट थुनछेक बहस शुरू हुन लागेको हो । सोही बहसका लागि लामिछाने बिहीबार अदालतमा हाजिर भएका हुन् ।
रकम अपचलनमा प्रतिवादी बनाइएका पूर्वगृहमन्त्री तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसँग बुधबार बयान लिएर परिवारको जिम्मा लगाइएको थियो ।
न्यायाधीश प्रह्लादकुमार योगीले लामिछानेको बयान लिएका थिए । आज थुनछेक बहस हुने जिल्ला अदालत रुपन्देहीका वैतनिक वकिल कृष्णप्रसाद ढकालले जानकारी दिए ।
बहसपछि रविलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश गर्नेछ ।
लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी गरेको आरोपमा गएको आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको थियो ।
सहकारी ठगीमा जाहेरी परेपछि अनुसन्धानको सिलसिलामा लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।
पक्राउ परेको ८४ दिनपछि जिल्ला अदालत कास्कीले उनलाई पुस २५ गते धरौटीमा रिहा गरेको थियो । त्यसपछि काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका लामिछाने ३ दिन प्रहरी हिरासतमा बसेका थिए ।
काठमाडौंमा पनि उनी अदालतको आदेशअनुसार ६० लाख धरौटी तिरेर रिहा भएका थिए ।
लामिछानेसहित २२ जनाविरुद्ध १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको अभियोग छ । यसमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु राई (जीबी)लाई पनि विपक्षी बनाइएको छ ।
रुपन्देही अदालतमा दर्ता गरिएको अभियोगपत्रमा सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडियामा लगिएको उल्लेख छ ।
त्यसमध्ये २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी लामिछानेको नाममा ऋण लगिएको अभियोगपत्रमा दाबी गरिएको छ ।