२३ असार २०८३, मंगलबार

लामिछानेलाई सभामुखको जवाफ– पूर्वाग्रहले होइन कानून बमोजिम नै सांसद पद निलम्बन

माघ १८, २०८१
काठमाडौं
लामिछानेलाई सभामुखको जवाफ– पूर्वाग्रहले होइन कानून बमोजिम नै सांसद पद निलम्बन

सभामुख देवराज घिमिरेले विद्यमान कानून, संसद् नियमावली र अभ्यास बमोजिम रास्वपा सभापति रवि लामिछानेको सांसद पद निलम्बन गरेको बताएका छन् ।

कसैको दबाब, प्रभाव, पूर्वाग्रह र पक्षधरताका आधारमा नभई कानून पालना गरेको उनले बताए । 

निलम्बन फुकुवाको मागसहित भेट्न पुगेका लामिछानेलाई सभामुख घिमिरेले निवेदनका सम्बन्धमा परामर्शपछि निर्णयमा पुग्ने बताएका हुन् । 

‘मैले विद्यमान कानून, संसद् नियमावली, अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको हुँ । कसैको दबाब, प्रभाव, पूर्वाग्रह र पक्षधरताका आधारमा होइन । हिजो यस पदमा अरु कोही थियो । आज म छु । भोलि अरु कोही हुन सक्छ । तर पदमा रहँदा कानूनको परिपालना गर्नु मेरो दायित्व हो ।​ तपाईंहरूले निवेदन दिनुभएको छ । यो छलफल र परामर्शको विषय हो,’ सभामुखको भनाइ उद्धृत गर्दै उनका प्रेस सहयोगी शेखर अधिकारीले भने ।

सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा लागेपछि पुस ८ गतेदेखि लामिछानेको सांसद पद निलम्बनमा परेको थियो ।

आफू अदालतबाट धरौटीमा रिहा भएकोले निलम्बनमा परेको सांसद पद फुकुवा हुनुपर्ने निवेदन लिएर लामिछाने शुक्रबार बिहान सभामुखलाई भेट्न पुगेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्