१० साउन २०८३, आइतबार
संसद् अधिवेशन आरम्भ

संसदबाट ओली–देउवाको सन्देश : कसिलो छ कांग्रेस–एमाले गठबन्धन

माघ १८, २०८१
काठमाडौं
संसदबाट ओली–देउवाको सन्देश : कसिलो छ कांग्रेस–एमाले गठबन्धन

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन बलियो रहेको सन्देश संसद् सम्बोधनबाट दिएका छन् । 

शुक्रबार शुरू संघीय संसद् अधिवेशनको आरम्भ मन्तव्यमा सत्ता साझेदार दलका शीर्ष नेताले गठबन्धन मजबुत रहेको सन्देश दिएका हुन् । 

संसद्मा झण्डै एक घण्टा लामो सम्बोधनका क्रममा ओलीले सरकार लामो नजाने भन्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिप्रति कटाक्ष गर्दै कांग्रेससँगको गठबन्धन बलियो रहेको दाबी गरे । 

विपक्षी मोर्चामा रहेका दलले ‘सरकार ढल्छ, ढल्नै लाग्यो’ भनिरहेको भन्दै उनले आफ्नो समय व्यर्थै खेर नफाल्न आग्रह गरे ।

ओलीले अगाडि थपे, ‘ढलें–ढलें, ढलें–ढलें म त...’ यो गीत अति नै गाइयो । यो गीत मनोरञ्जन पार्टी/उत्सवहरूमा सुहाउला, राजनीतिमा सुहाउँदैन । राजनीतिका मञ्चमा गाउन बन्द गरौं ।’ 

ओलीले यसो भन्दा संसद्मा रहेका देउवा मुस्कुराएका थिए ।  

ओलीले कांग्रेससँगको गठबन्धनका कारण आफू आत्मविश्वासका साथ संसद्मा उभिएर बोल्न सकेको बताए । ‘गएको ६ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहोर्‍याउनु नपरेको एउटा सुखद् पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु– सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्तापत्ता खेलिरहने विद्रूप स्थितिमा अब बन्ध्याकरण भएको छ,’ ओलीले भने, ‘संसद्समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट हामी मुक्त भएका छौं । आज म जनता र संसद्को भरोसा एवं दृढताले भरिएको आत्मविश्वास लिएर यहाँ उपस्थित भएको छु ।’ 

null

सम्बोधन गर्न रोस्ट्रममा जानुअघि ओलीले लिखित सम्बोधनको एक प्रति प्रचण्डलाई दिएका थिए । 

ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर कांग्रेससँग अविश्वास बढाउने आफ्नो योजना नरहेको सन्देश पनि सम्बोधनबाट दिए । ‘आज यतिचाहिँ भन्छु– पार्टी टुक्राउने, भत्काउनेजस्ता खुद्रे कुराहरू यो सरकारको मेन्युमा छैन । ढुक्क हुनुस्, कांग्रेस–एमालेसहितको यति बलियो सरकारको प्राथमिकता त्यस्तो हुन सक्दैन,’ ओलीले भने । 

ओलीको प्रतिबद्धताले पार्टी फुटको त्रासमा रहेका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई राहत मिलेको छ । ओलीको भनाइलाई पुनर्पुष्टि गर्दै एमाले सचिव योगेश भट्टराईले २०७८ भदौ २ गते अध्यादेश ल्याएर एमाले फुटाएजस्तै अहिले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश नआउने स्पष्ट पारे ।

देउवाको उही कुरा– ‘७ बुँदेप्रति कांग्रेस प्रतिबद्ध, सरकारले राम्रो गरिरहेको छ’

विगतमा जस्तै लिखित र संक्षिप्त सम्बोधन गरेका कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेसँग गरिएको ७ बुँदे सहमतिप्रति पार्टी प्रतिबद्ध रहेको दोहोर्‍याए । आलोपालो सरकारको नेतृत्व गर्नेगरी ओली र देउवाबीच गत असार १७ गते ७ बुँदे सहमति भएको थियो ।  

‘विगतमा सरकार अस्थिर हुँदा हामीले आर्थिक स्थितिमा सुधार गर्न र स्थिरता दिन सकेनौं । यसैले एमालेसँग ७ बुँदे सहमति गरेर सरकार बनाएका छौं । सरकारमा अन्य दल पनि सहभागी छन्,’ देउवाले भने, ‘एमालेसँग भएको ७ बुँदे सहमतिप्रति कांग्रेस दृढ छ ।’

null

साढे ६ महिनाको अवधि थोरै भए पनि सरकारले राम्रो कामको थालनी गरेको देउवाले बताए ।

‘६ महिना सरकारको कार्यसम्पादन मूल्यांकन गर्ने पर्याप्त अवधि होइन । तर, आर्थिक, व्यावसायिक वातावरण निर्माण, विकास निर्माण र सुशासनका लागि वातावरण बनाउन सरकारले प्रभावकारी काम गरेको छ,’ देउवाले भने, ‘सरकारले अझै राम्रो काम गर्नेछ भन्ने विश्वास लिएका छौं ।’

देउवाले सरकारले ल्याएको अध्यादेशले आर्थिक स्थितिलाई राम्रो गर्ने, सुशासन तथा सेवा प्रवाहमा सहजता ल्याउने बताए । 

बहुदवादमा आधारित भएर अगाडि बढेको भन्दै उनले समावेशिता, संविधानका आधारभूत कुरालाई तलमाथि नगरी संविधान संशोधन गर्नुपर्ने बताए ।

शुक्रबार संसदमा किन बोलेनन् प्रचण्ड ?

संसद्को हिउँदे अधिवेशन आरम्भका अवसरमा प्रतिनिधि सभाको पहिलो दिनको बैठकमा सत्तारुढ दलका शीर्ष नेताले सम्बोधन गरे पनि प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने सम्बोधन गरेनन् । 

पहिलो दिनको बैठकमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले सम्बोधन गरे पनि तेस्रो दलको अध्यक्ष प्रचण्ड बैठकमा बोलेनन् । माओवादीको तर्फबाट प्रमुख सचेतक हितराज पाण्डेले सम्बोधन गरेका थिए । 

बिहीवार विपक्षी दलको बैठकमा समेत प्रचण्डले संसदमा सम्बोधन गर्ने बताएका थिए, तर संसदमा उपस्थित भएर पनि बोलेनन् । स्रोतका अनुसार प्रचण्डले प्रक्रियाका हिसाबले आज नबोलेका हुन् । 

फाइल तस्वीर

ओलीले सम्बोधन गरेपछि सभामुख देवराज घिमिरेले ठूलो दलको हैसियतमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समय दिए । त्यसपछि दोस्रो ठूलो दल नेकपा एमालेका सचिव योगेश भट्टराईलाई समय दिए । 

प्रधानमन्त्री बोलेपछि प्रमुख प्रतिपक्षी दलको नेतालाई बोल्न दिएको भए प्रचण्डले शुक्रबार नै बोल्ने तयारी गरेका थिए । सभामुखले योगेशलाई बोल्न दिएपछि प्रचण्डले पाण्डेलाई बोल्न आग्रह गरेका हुन् । 

माओवादीका एक नेताका अनुसार प्रचण्डले आगामी दिनको बैठकमा विशेष समय लिएर बोल्ने तयारी गरेका छन् । 

‘प्रधानमन्त्री बोलेकै दिनमा बोल्नुपर्छ भन्ने रहेन, अर्को दिन बोल्नुहुन्छ’ ती नेताले भने । 

प्रतिपक्षी दलको नेता बोल्ने दिन प्रधानमन्त्री संसदको बैठकमा उपस्थित हुने संसदीय परम्परा छ । 

salt training

कमेन्ट गर्नुहोस्