
यौन प्रस्ताव अस्वीकार गर्दा अछाममा दुई किशोरीको हत्या भएको खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय अछामको संयुक्त अनुसन्धान टोलीले गरेको अनुसन्धानमा किशोरीले यौन प्रस्ताव अस्वीकार गरेपछि हत्या भएको खुलेको हो ।
अछामको ढकारी गाउँपालिका-१ स्थित सोडसा सामुदायिक वनको छिन्ने ओडार क्षेत्रमा माघ १२ गते १४ वर्षीया ईशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको शव फेला परेको थियो । अघिल्लो दिन बाख्रा चराउन गएका उनीहरू नफर्केपछि खोज्दै जाँदा भोलिपल्ट शव फेला परेको थियो ।
अनुसन्धानपश्चात जिल्ला प्रहरी कार्यालय अछामले सार्वजनिक गरेको घटना विवरणअनुसार मृतक ईशरासँग एक किशोर प्रेम सम्बन्धमा थिए । जंगलमै भेट्न पुगेका किशोरले ईशरासँग यौन सम्पर्कको प्रस्ताव राखेका थिए । तर, उनले प्रस्ताव अस्वीकार गरी खोलातर्फ फर्किएपछि ती किशोरले ढुङ्गाले प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको हो ।
त्यसपछि हत्या गरेको कुरा कसैलाई नभन्न चेतावनी दिँदा साथमा रहेकी अर्की किशोरी सरस्वतीले अस्वीकार गरेपछि उनको पनि हत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाभन्दा दुई दिनअघि ती किशोर आफन्तकोमा आएर बसेका थिए। अघिल्लो दिन उनले ईशरालाई पटक-पटक फोन गरी भेट्न बोलाएका थिए, तर उनीहरूबीच भेटघाट हुन सकेको थिएन। अर्को दिन उनीहरूले जंगलमा भेट गरेका थिए ।
जंगलमा भेट भएपछि ती किशोरहरूले ईशरालाई मायाको चिनो स्वरूप दोपट्टा मागेका थिए, तर उनले दिन अस्वीकार गरेपछि खोसाखोससमेत भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउगरी अनुसन्धान अघि बढाएको छ। अछाम जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई उनीहरूलाई निगरानी कक्षमा राखिएको प्रहरीले जनाएको छ ।