
नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको फिस्लिङ नजिकै ट्रक र कार ठोक्किएका छन् । दुर्घटनामा एक जना महिला घाइते भएकी छन् भने सडक एकतर्फी अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका-३ पानीधारामा काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ख १७५४ नम्बरको ट्रकसँग विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१-०२७ च ४००० नम्बरको कार ठोक्किएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
दुर्घटनामा रुपन्देहीको देवदह नगरपालिका-४ की ५० वर्षीया मायादेवी उपाध्याय घाइते भएकी छन् । उनी कारमा सवार थिइन् । उनलाई स्थानीय मेडिकलमा प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको छ ।