
१२औं राष्ट्रिय पुस्तक दिवस एवं सरस्वती पूजाको अवसरमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ काठमाडौंले पुस्तक वितरण गरेको छ ।
राजेन्द्र रिजालको संयोजकत्वमा काठमाडौंस्थित खगेन्द्र नवजीवन शिक्षालयमा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीहरूलाई पुस्तक, स्टेसनरी र खेलकुद सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा शाखा अध्यक्ष नारायण दाहालको अध्यक्षता, बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीको प्रमुख आतिथ्य, महासंघका केन्द्रीय अध्यक्ष शिवसागर शर्मा र उपमहासचिव अर्जुन आचार्यको विशेष आतिथ्यता रहेको थियो।

महासंघका अध्यक्ष शर्माले महासंघ व्यापार मात्र नभई सामाजिक उत्तरदायित्वमा पनि सक्रिय रहेको बताए।
यस्तै, विद्यालयका अध्यक्ष र प्रधानाध्यापकले महासंघको सामाजिक कार्यको प्रशंसा गर्दै निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे ।
जिल्ला सचिव तुलसीप्रसाद अवस्थीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष विष्णुलाल गिरीले स्वागत मन्तव्य राखेका थिए ।
