
लुम्बिनी प्रदेशको आठौं स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।
स्थापना दिवसको अवसरमा प्रदेश सरकार र प्रदेशसभाले दाङको देउखुरीमा संयुक्त कार्यक्रमको आयोजना गरेका थिए ।
दिवसको मूल समारोहमा विभिन्न समुदायको झाँकी प्रदर्शन गर्नुका साथै मन्त्रालयगत स्टलहरू राखेर सरकारले गरेका कामहरू सार्वजनिक गरिएको छ ।
लुम्बिनी प्रदेश स्थापना दिवसको उद्घाटन गर्दै प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले जनता बलियो हुने शासन व्यवस्था नै संघीय शासन व्यवस्था भएको बताए ।

उनले जनताको सेवकको रूपमा जनप्रतिनिधि रहेको भन्दै जनताभन्दा माथि कोही नहुनेमा जोड दिए । ‘जनताको शासन हो, यहाँ जनता नै जनार्दन हुन्,’ उनले भने, ‘जन भावना अनुसार नै काम कारबाही अघि बढ्नुपर्छ ।’
मुख्यमन्त्री चेतनारायण आचार्यले तीन तहका सरकारका बीचमा प्रदेशलाई अब्बल बनाउन सक्नेगरी लुम्बिनी प्रदेशले उदाहरण दिन सफल भएको बताए । ‘प्रदेश सरकारको उपादेयता र औचित्य, हाम्रो काम गराई, इमान्दारिता, सुशासन, सेवा प्रवाह एवं स्थायित्व प्राप्त सरकारबाट मात्रै दिन सकिन्छ भन्नेमा हामीमा द्विविधा पक्कै पनि नहोला,' उनले भने ।
पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशलाई अधिकार सम्पन्न बनाउन संघीय सरकारले ध्यान दिनुपर्ने बताए ।