
पर्सास्थित जिल्ला प्रहरी कार्यालयमा जबर्जस्तीकरणीको एउटा जाहेरी अनुसन्धान गर्ने क्रममा प्रहरी नै चकित परेका छन् ।
८ वर्षीया अबोध बालिकामाथि आफ्नै बुवाले गरेको निकृष्ट कार्य देखेर प्रहरी अधिकृतहरू चकित परेका हुन् ।
वीरगञ्ज महानगरपालिका– १२ मूर्ली बगैँचा टोल बस्ने परिवर्तित नाम (जैतिया ङ) जबर्जस्ती करणी तथा हाडनाता करणी ठहर्ने कसुरमा प्रहरी हिरासतमा छन् ।
घटना गएको महिना पुस ९ गतेको भएपनि जिल्ला सरकारी वकिल कार्यालय पर्साले यही माघ ६ गते पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।
अभियोग पत्रमा उल्लेख भएअनुसार परिवर्तित नाम ‘जैतिया ङ’ का २ श्रीमती छन् । १३ वर्षअघि पोखरामा प्रेम विवाह गरिएकी जेठी श्रीमती (जैतिया क)बाट एक छोरा र एक छोरी भए । त्यसपछि उनीहरू वीरगञ्ज फर्र्किए ।
परिवर्तित नाम ‘जैतिया क’ गर्भवती हुँदा नै मानसिक अवस्था बिग्रँदै गएको थियो । त्यसमाथि सधैँजसो मदिरा सेवन गरेर कुटपिट गर्ने भएपछि उनी रानीघाटमा डेरा गरेर बस्न थालिन् । पर्सामा सिलाइ पसल सञ्चालन गरेर बसेका ‘जैतिया ङ’ ले अर्की महिला (जैतिया ख)सँग प्रेम विवाह गरे । कान्छीबाट छोरी जन्मिइन् ।
‘जैतिया ङ’ ले सरकारी वकिल कार्यालयमा बयान दिएअनुसार जेठीको मानसिक अवस्था ठीक नभएपछि जेठीबाट जन्मिएको छोरी कान्छीले नै पालनपोषण गर्दै आएकी थिइन् । जेठीबाट जन्मेको छोरा भने कान्छीका बुवाले भारतमा लगेर पालनपोषण गर्दै आएका छन् ।
गत पुस ६ गते जेठीले ‘मेरो छोरी मै पाल्छु, फिर्ता ल्याइदिनुस्’ भनेपछि ‘जैतिया ङ’ ८ वर्षीया छोरी लिएर रानीघाट गए । त्यस दिन ‘जैतिया ङ’ ले अत्यधिक मदिरा सेवन गरेका थिए । त्यहीबीचमा जेठीसँग उनको नोकझोक भयो ।
छोरीलाई पुनः कान्छीकैमा पुर्याइदिन्छु भनेर हिँडे । आफूले सञ्चालन गरेको बुटिकमा पुर्याएर ८ वर्षीया छोरी परिवर्तित नाम (जैतिया) लाई जबर्जस्ती करणी गरे । बयानमा ‘जैतिया ङ’ ले भनेका छन्, ‘मदिराको नशामा मैले आफ्नै छोरीमाथि करणी गरें, कानूनबमोजिम सजाय भोग्न तयार छु ।’
सरकारी वकिल कार्यालयले पीडित जैतियासँग पनि बयान लिएको छ । बयानमा जैतियाले सानीआमा (जैतिया ख)को मा पुर्याइदिन्छु भनेर बुटिकको कोठामा लगेर जबर्जस्ती करणी गरेको उल्लेख गरेकी छिन् ।
अभियोग पत्रमा ‘जैतिया ङ’विरुद्ध मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ (१) (२) बमोजिमको कसुर र हाडनातातर्फ सोही संहिताको दफा २२०(१) विपरीतको कसुरमा दफा २१९ (३) (क) र दफा २२० (२) (क) बमोजिमको सजाय मागदाबी लिइएको छ ।
मुलुकी अपराधसंहिताको दफा २१९ (३) (क) मा जबर्जस्ती करणी गर्ने व्यक्तिलाई १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपांगता भएका वा ७० वर्षभन्दा बढी वर्ष उमेरका महिला भए जन्मकैद हुने भनिएको छ । त्यस्तै, २२०(२) (क) मा जन्माउने आमाछोराको वा बाबुछोरीको करणी भएमा जन्मकैद हुने व्यवस्था छ ।
मोबाइल किनिदिने बहानामा सुस्तमनस्थितिकी युवतीमाथि बलात्कार
बलात्कार आफैैंमा गम्भीर प्रकृतिको अपराध हो । केही घटनामा पीडकले स्वास्थ्यवस्था कमजोर भएकी र सुस्तमनस्थिति भएकी युवतीलाई शिकार बनाउँदै आएका छन् । यस्तै घटनाको जाहेरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा दर्ता भएको भेटिएको छ । २१ वर्षीया सुस्तमनस्थितिकी एक युवतीलाई भलबारीका चौधरी थरका व्यक्तिले जबर्जस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दर्ता भएको थियो ।
प्रहरीले पीडकलाई पक्राउ गर्यो । उनले घटना स्वीकार गरे । अनुसन्धान सकाएर प्रहरीले अनुसन्धानको मिसिल सरकारी वकिल कार्यालयमा बुझाएपछि अदालतमा मुद्दा दर्ता भयो । यही माघमा दर्ता गरिएको अभियोजन पत्रअनुसार पीडित युवती बुवालाई चुरोट किनेर फर्कँदै गर्दा एक व्यक्तिले परालको थुप्रोमा लगेर जबर्जस्ती करणी गरेका थिए । दुईपटकसम्म करणी गरेपछि उक्त कुरा कसैलाई नभन्न आग्रह गर्दै मोबाइल किनिदिन्छु भनेर फकाएर पठाएका थिए ।
पीडित युवती ढिलो घर फर्किएपछि बुवाले केरकार गर्दा आफू बलात्कृत भएको जानकारी गराएकी थिइन् । त्यसपछि बाबुछोरी प्रहरीमा आएर उजुरी गरेका थिए ।
युवती साँझपख बुवालाई चुरोट किनिदिन भनेर पसलमा गएकी थिइन् ।
स्कुटरमा सवार व्यक्तिले सुस्तमनस्थितिकी युवतीलाई घर पुर्याइदिने भन्दै स्कुटरमा राखेर कोही नभएको मौका छोपेर बलात्कार गरेका थिए । उक्त कुरा पीडक आफैंले पनि प्रहरी र सरकारी वकिलसँगको बयानमा स्वीकार गरेका छन् ।
‘मैले बीयर पिएँ, पीडित युवतीलाई पनि पिलाएँ, दुईपटकसम्म जबर्जस्ती करणी गरे,’ पीडकले बयानमा भनेका छन्, ‘फर्कने बेलामा उक्त कुरा कसैलाई नभन, म मोबाइल किनिदिन्छु भनें, एक हजार रुपैयाँ, ललिपप र बदाम दिएर स्कूटर चढाएर घरनजिकै छाडिदिएँ ।’
पैसा दिएर फकाउँदै बलात्कार, १२ हप्ताको गर्भवती भएपछि मात्रै परिवारलाई थाहा
काठमाडौंको ठमेल गोल्कुपाखा बस्ने ७१ वर्षीय वृद्धले १४ वर्षीया किशोरीलाई पैसा दिएर फकाउँदै बलात्कार गरेको मुद्दा जिल्ला अदालत काठमाडौंमा दर्ता भएको छ ।
प्रहरीमा गत पुस २२ गते उजुरी परेको थियो । प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएपछि माघ १६ गते मुद्दा दर्ता भएको हो ।
पीडित किशोरीका बुवाको दुवै खुट्टा अपरेसनपछि काटिएको थियो । उनी हिँडडुल गर्न सक्दैनन् । आमा काममा जान्छिन् । किशोरी मामाघरमै बसेर नजिकैको स्कूलमा ८ कक्षामा पढ्दै आएकी थिइन् ।
मामाघरकै एउटा कोठामा ७१ वर्षीय वृद्ध पनि डेरा गरी बस्थे । पीडित किशोरीले वृद्धलाई ठूलोबुबा भनेर सम्बोधन गर्थिन् ।
विद्यालय छुट्टी भएर घरमा बसिरहेका बेला कोठाभित्र पसेर चुकुल लगाई ती वृद्धले आफूलाई जबर्जस्ती करणी गरेको पीडित किशोरीले सरकारी वकिल कार्यालयसँगको बयानमा उल्लेख गरेकी छिन् ।
कहिले ४० रुपैयाँ त कहिले ५० रुपैयाँ दिएर फकाएर पटक–पटक बलात्कार गरेपछि किशोरी गर्भवती भइन् ।
स्वास्थ्यमा समस्या देखिन थालेपछि आमाले उनलाई अस्पताल लगेकी थिइन् । अभियोगपत्रमा उल्लेख भएअनुसार चिकित्सकले किशोरीको पेटमा १२ हप्ताको गर्भ भएको बताए ।
त्यसपछि मात्र पीडित किशोरीकी आमाले आफ्नी छोरी पटक–पटक बलात्कृत भएको थाहा पाएकी थिइन् ।
पीडित किशोरीले घटनाको सबै बेलिविस्तार लगाएपछि उनीहरू नेपाल प्रहरीको लैनचौर वृत्तमा उजुरी लिएर पुगेका थिए ।
‘मैले आफूमाथि भएको ज्यादतीको बारेमा आमालाई भनिदिन्छु भन्दा ठूलोबुबाले कसैलाई नभन्न धम्की दिँदै पैसा दिन्थे,’ पीडित किशोरीले सरकारी वकिल कार्यालयसँगको बयानमा भनेकी छिन्, ‘घरमा कोही नभएका बेला मलाई जबर्जस्ती करणी गर्थे ।’
त्यसो त पीडक वृद्धले पनि ती किशोरीलाई बलात्कार गरेको स्वीकारेका छन् ।
बढ्यो बलात्कारका घटना
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/०७६ मा २ हजार २ ४१, २०७६/०७७ मा २ हजार १ सय ७४, २०७७/०७८ मा २ हजार ६ सय १३, २०७८/०७९ मा २ हजार ४ सय ८८, २०७९/०८० मा २ हजार ४ सय ४१ र २०८०/०८१ मा २ हजार ५ सय ७ वटा मुद्दा दर्ता भएका छन् ।
धेरै मुद्दा दर्ता भएका कसुरमध्ये जबर्जस्ती करणी छैठौं नम्बरमा परेको छ । २०८०/०८१ मा ५९ हजार २ सय ४ वटा मुद्दा दर्ता भएका थिए । यो आँकडा हेर्दा २३.६ प्रतिशत मुद्दा बलात्कारकै हुन् । २०८१/०८२ को पुससम्म आइपुग्दा बलात्कारका १ हजार ८ सय घटना प्रहरीमा दर्ता भएका छन् ।
आफन्त र चिनेजानेकाबाटै असुरक्षित महिला र बालबालिका
प्रहरी प्रधान कार्यालयका अनुसार घटना हेर्दा सबैभन्दा बढी आफन्त र चिनेजानेकाबाटै बलात्कारका घटना हुने गरेको देखिन्छ ।
आर्थिक वर्ष २०८०/०८१ मा उजुरी दर्ता भएका २ हजार ५ सय ७ वटा घटनामध्ये २० प्रतिशतभन्दा बढी बलात्कारका घटना आफन्त र चिनेजानेकाबाटै भएको छ । बाबु, दाजुभाइ, मामा, काका, ठूलोबुबा, सानोबुबा, छिमेकीजस्ता नाता पर्नेहरूबाट महिला तथा बालबालिका पीडित हुँदै आएका छन् ।
प्रधान कार्यालयका प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यका अनुसार बलात्कारका घटना न्यूनीकरण गर्न प्रहरीले सचेतनाका विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ ।
समुदाय–साझेदारी कार्यक्रममार्फत गाउँ, टोल र छिमेकमा हुँदै आएका महिला हिंसाका घटनाबारे नाटक प्रदर्शनी समेत गर्दै आएको आचार्यले बताए ।
‘बलात्कारका घटना विश्लेषण गर्दा धेरैजसो आफन्तबाटै हुँदै आएको देखिन्छ,,’ डीआईजी आचार्यले लोकान्तरसँग भने, ‘घटना न्यूनीकरणका लागि थुप्रै प्रयासहरू भएका छन् ।’ उनले प्रहरीले नै चेतना अभिवृद्धि गराएकै कारण घटनाहरू दर्ता हुने क्रम बढेको बताए । उनले भने, ‘पहिला पनि बलात्कारका घटना हुन्थे, तर लुकाइन्थ्यो, अहिले प्रहरीले कारबाही गर्न थालेपछि बाहिर आउन थालेका छन् ।’