१९ असार २०८३, शुक्रबार
ट्रम्प कदमले निम्त्याएको द्वन्द्व

अमेरिकी ट्यारिफपछिको रियाक्सन- क्यानडाले तोक्यो प्रतिशोधात्मक शुल्क, विकल्प खोज्दै चीन

माघ २१, २०८१
काठमाडौं
अमेरिकी ट्यारिफपछिको रियाक्सन- क्यानडाले तोक्यो प्रतिशोधात्मक शुल्क, विकल्प खोज्दै चीन
तस्वीर : एपी/रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, क्यानडा र मेक्सिकोबाट आयात हुने सामग्रीमा उच्च शुल्क लगाउने घोषणा गरेपछि क्यानडाले त्यसको प्रतिवाद गरेको छ भने चीन विकल्पको खोजीमा लागेको छ । ​ट्रम्पको निर्णयविरुद्ध मेक्सिकोले पनि चाँडै आफ्नो प्रतिक्रिया सार्वजनिक गर्ने बताएको छ ।

अमेरिका र उसका प्रमुख व्यापारिक साझेदारहरू वैदेशिक व्यापारमा आफ्नो देशलाई बढीभन्दा बढी फाइदा हुने ‘संरक्षणवाद’को नयाँ युगमा प्रवेश गरेका छन् । राष्ट्रपति ट्रम्पद्वारा लगाइएको नयाँ ट्यारिफको विरोधमा क्यानडा, मेक्सिको र चीनले वैकल्पिक उपाय अपनाउने घोषणा गरेका हुन् ।

क्यानडाले अमेरिकाबाट आफ्नो देशमा आयात हुने मकैदेखि टमाटर, कपडादेखि शौचालय सिटसम्मका सामानमा २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेको छ । 

‘अमेरिकाले जे जसरी हामीमाथि व्यवहार गरिरहेको छ, हामी त्यस्तै बन्न चाहन्नौं’, क्यानडाका कामचलाउ प्रधानमन्त्री जस्टिन ट्रुडोले शनिबार राति राजधानी ओटावाबाट गरिएको टेलिभिजन सम्बोधनमा भने, ‘अमेरिका र क्यानडाबीच सबै आयाममा गहिरो सम्बन्ध छ । हामीले यस्तो गर्न अनुरोध गरेका थिएनौं ।’

त्यस्तै, आइतबार चीनले आफ्नो अधिकार र हित दृढतापूर्वक सुरक्षित गर्न सम्बन्धित विकल्पका कदमहरू अपनाउने घोषणा गरेको छ । चीनले विश्व व्यापार संगठनमा कानूनी कारबाही गर्ने तयारी गरेको पनि जनाएको छ ।

ट्रम्पको घोषणापछि मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबामद्वारा सार्वजनिक एक भिडियो सन्देशमा भनिएको छ, ‘यदि अमेरिकासँग सम्झौता हुन सकेन भने हामी सोमबार हाम्रो प्लान बीको पहिलो चरण सार्वजनिक गर्नेछौं ।’

उनले यसअघि नै अमेरिकाविरुद्ध प्रतिशोधात्मक ट्यारिफ तथा गैर-ट्यारिफ उपाय अपनाउने  चेतावनी दिएकी थिइन् ।

ट्रम्पको घोषणा र त्यसको प्रभाव
शनिबार राष्ट्रपति ट्रम्पले क्यानडा र मेक्सिकोबाट आयात हुने सबै सामानमा २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरे । तर, क्यानडाबाट आयात हुने ऊर्जा तथा तेल निर्यातमा भने १० प्रतिशत कर मात्र लगाइने उनले बताएका थिए । ट्रम्पले चिनियाँ सामानमा पनि १० प्रतिशत ट्यारिफ बढाउने निर्णय गरेका छन् ।

यसका अतिरिक्त अमेरिकी उपभोक्तालाई प्रत्येक देशबाट ८ सय डलरसम्मका सामान ट्यारिफबिना किन्ने सुविधा पनि समाप्त गरिएको छ । 

यो निर्णयले टेमु र शेइन  जस्ता अनलाइन कम्पनीलाई ठूलो झट्का दिएको छ, जसले चिनियाँ कारखानाबाट अमेरिकी उपभोक्तासम्म सिधै सामान पुर्‍याउने मोडेल अपनाएका थिए ।

यी कर मंगलबार मध्यरातबाट लागू हुनेछन् । यसअघि नै रहेका ट्यारिफमा थपिने भएकाले उपभोक्ताहरूले नयाँ कर मात्र होइन, बितेका वर्षहरूमा संकलित अन्य ट्यारिफ पनि तिर्नुपर्नेछ ।

ट्रम्पको बचाउ, रिपब्लिकनहरूको मिश्रित प्रतिक्रिया
आइतबार ट्रम्पले ट्यारिफको बचाउ गर्दै यसले केही असर पार्न सक्ने स्वीकार गरे । ‘केही पीडा हुनेछ र हुनपनि सक्छ’, उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन् । 

उनका अनुसार ट्यारिफ लगाउने उद्देश्य सीमापार घातक ओपिओइड फेन्टानिल(एक प्रकारको पीडा कम गर्ने औषधि)को प्रवाह रोक्ने र आप्रवासन नियन्त्रण गर्नु हो । यद्यपि, अमेरिकालाई क्यानडाबाट अवैध आप्रवासन र गैरकानूनी औषधिको डर छैन । 

ट्रम्पको पहिलो कार्यकालमा चिनियाँ सामानमा लगाइएका ट्यारिफबारे भएका केही अध्ययनले यसको भार अमेरिकी उपभोक्तामाथि नै परेको देखाएका थिए । कतिपय अवस्थामा चिनियाँ आपूर्तिकर्ताले मूल्य घटाएर ट्यारिफको केही भार सम्हालेका थिए ।

अमेरिकी कंग्रेसमा अधिकांश रिपब्लिकन सांसद ट्रम्पको निर्णयमा मौन रहेका छन् भने केहीले समर्थन जनाएका छन् । यद्यपि, बढ्दो मूल्यबृद्धिबारे रिपब्लिकनका मतदाताहरूले ठूलो चासो व्यक्त गरेको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् । 

केन्टकीका सिनेटर रान्ड पल भने यस मामिलामा अपवाद जस्तै छन् । ‘ट्यारिफ साधारण कर हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कन्जर्भेटिभहरू कुनै एक समय नयाँ करको विरोधमा एकजुट भएका थिए । व्यापारमा कर लगाउँदा व्यापार घट्नेछ र मूल्य बढ्ने सामान्य नियम हो ।’

तर, अधिकांश रिपब्लिकनले भने ट्रम्पको कदमको समर्थन गरेका छन् । ओहायोका रिपब्लिकन सिनेटर बर्नी मोरेनोले सामाजिक सञ्जालमा लेखे, ‘ओहायो व्यापारका लागि खुला छ र अमेरिकामा उत्पादन गर्ने कुनै पनि कम्पनीका लागि रातो कार्पेट ओछ्याउनेछ !’

सिनेटमा दोस्रो नम्बरका रिपब्लिकन नेता वायोमिङका जोन बारासोले फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘म राष्ट्रपतिले गरेको निर्णयलाई समर्थन गर्छु । फेन्टानिल हटाउन हामीले चीन, मेक्सिको र क्यानडालाई दबाब दिनुपर्छ ।’

डेमोक्र्याटको विरोध
डेमोक्र्याटहरूले भने ट्रम्पको कदमले अमेरिकी जनताको जीवनयापन महँगो बनाउने दाबी गर्दै यसको विरोध गरेका छन् । ‘यो एउटा लापरवाह कदम हो’, न्यू मेक्सिकोका डेमोक्र्याट प्रतिनिधि गेब भास्केजले भने, ‘राष्ट्रपतिले पेट्रोल, ट्रक, साना व्यवसायका लागि कम्प्युटर, किराना पसलमा पाइने एभोकाडोदेखि टकिलासम्म सबै चीजको मूल्य बढाएका छन् ।’

चीनले विश्व व्यापार संगठनमा उजुरी हाले पनि ट्रम्पको कदम उल्टिने विषय अनिश्चित छ । ट्रम्पको पहिलो कार्यकालमै अमेरिका संगठनको न्यायिक प्रणाली अवरुद्ध गर्न सक्रिय रहेको थियो । संगठनको ‘अपिल निकाय’मा न्यायाधीश नियुक्त नहुँदा सन् २०१९ देखि विवाद समाधान प्रक्रियामा गम्भीर असर परिरहेको छ ।

चीन, क्यानडा र मेक्सिकोको प्रतिक्रिया
चीनले विगतमा अमेरिकी ट्यारिफको जवाफ दिँदै उल्टो अमेरिकी सामानमा ट्यारिफ लगाउँदै आएको थियो । तर, अमेरिकाबाट चीनमा निर्यात हुने सामानको परिमाण थोरै भएकाले चीनसँग प्रतिशोधात्मक ट्यारिफ लगाउने सीमित विकल्प मात्र छन् ।

मेक्सिकोकी राष्ट्रपति शेइनबामले आइतबार जारी एक भिडियो सन्देशमा भनेकी छन्, ‘यदि अमेरिकाले कारबाही गर्न चाहन्छ भने, उसले मेक्सिकोमा होइन, आफ्नै देश हेर्नुपर्छ । जहाँ अवैध लागू पदार्थ रोक्न केही गरिएको छैन ।’

शनिबार, क्यानडाले पनि अमेरिकाविरुद्ध नयाँ ट्यारिफको घोषणा गर्दै अमेरिकी जनतालाई सिधै सम्बोधन गरेको थियो । 

प्रधानमन्त्री ट्रुडोले भने, ‘यो निर्णयले क्यानडालीहरूलाई मात्र होइन, तपाईं अमेरिकी जनतालाई पनि सिधै र गहिरो असर पार्नेछ ।’

क्यानडाका ओन्टारियो र नोभा स्कोटिया प्रान्तहरूले सरकारी स्वामित्वमा रहेका मदिरा स्टोरबाट अमेरिकी बियर, वाइन र स्पिरिट्स हटाउने घोषणा गरेका छन् ।

ब्रिटिश कोलम्बियाका प्रिमियर डेभिड इबीले ‘रेड स्टेट’मा उत्पादित मदिराजन्य वस्तुहरूको बिक्री प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् ।

ट्रम्पको यस्तो निर्णयले अमेरिकासँग अन्य व्यापार साझेदारबीच व्यापार युद्ध चर्किंदै गएको संकेत देखिन थालेका छन् । अमेरिकाविरुद्ध तत्काल प्रतिशोधात्मक ट्यारिफ घोषणा गरिएको भएपनि यसपछि क्यानडा, चीन र मेक्सिको कसरी अगाडि बढ्छन् भन्नेमा अन्तर्राष्ट्रिय व्यापार बजारको ध्यान केन्द्रित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्