
जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सोमबार सम्पन्न भएको छ । तीन दिनदेखि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी बैठक सोमबार साँझ सकिएको हो ।
पूर्वी नेपालमा अहिले भइरहेको ‘नो केबलकार आन्दोलन’माथिको सरकारी दमन तत्काल बन्द गरी वार्तामार्फत् समाधान खोज्न आग्रह गर्दै जसपा नेपालले घाइतेको उपचार र गिरफ्तार गरिएका आन्दोलनकारीलाई अविलम्ब रिहाई गर्न सरकारसँग माग गरेको अध्यक्ष यादवको निजी सचिवालयले जनाएको छ ।
किराँत–लिम्बुवानका सांस्कृतिक एवं धार्मिक आस्थाको केन्द्र पाथिभारा (मुक्कुम्लुङ)को प्राकृतिक संरचनालाई यथावत राख्न भइरहेको आन्दोलनमाथिको सरकारले दमन गर्नु लोकतान्त्रिक मूल्य मान्यताको विरुद्ध रहेको बैठकको ठहर छ ।
धार्मिक, सांस्कृतिक आस्था र पहिचानका लागि अहिंसात्मक तथा शान्तिपूर्ण संघर्ष गरिरहेका जनतामाथि सरकारले बल प्रयोग गरेर त्यहाँका आदिवासी–जनजाति समुदायको अधिकारको हनन् गरेको बैठकको ठहर रहेको छ ।
सरकारले माघ २४ गतेको संसद्मा प्रस्तुत गर्ने अध्यादेशको पक्ष वा विपक्षमा मतदान गर्नेबारे कार्यकारिणी बैठकमा छलफल भएको छ । अध्यादेशको विषयमा मंगलबार सिंहदरबारमा बस्ने जसपा नेपालको संसदीय दलको बैठकले आवश्यक निर्णय लिने बताइएको छ ।
बैठकले तीन वटा प्रदेशका इन्चार्जहरूको जिम्मेवारी हेरफेर समेत गरेको छ । लुम्बिनी प्रदेशको इन्चार्जमा पार्टी महासचिव रामकुमार शर्मा, कर्णाली प्रदेशको इन्चार्ज वीर बहादुर नेपाली र सुदूरपश्चिम प्रदेशको इन्चार्ज प्रेमचन्द्र झालाई तोकिएको छ ।
कार्यकारिणी बैठकले ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’को प्रदेश, जिल्ला, पालिका र वडास्तरगत समीक्षा गरेको छ । निर्वाचन क्षेत्रगत प्रगति विवरणसहित भएको छलफलमा उक्त अभियान अत्यन्तै उत्साहजनक, प्रभावकारी र परिणाममुखी भएको निष्कर्ष निकालिएको छ ।
माघ मसान्तपश्चात उक्त अभियान स्थगित गरेर आगामी वैशाखभित्र प्रदेश, जिल्ला र पालिकाको अधिवेशन सम्पन्न गर्न मातहतका संगठनहरूलाई बैठकले निर्देशन दिएको छ ।
जसपा नेपालले केन्द्रीय सल्लाहकार समिति गठन गर्ने गृहकार्यलाई अघि बढाएको छ । बैठकमा समिति गठनका लागि दुई दर्जन नेताहरूको नामावली संकलन गरिएको छ । थप छलफल र गृहकार्य गरी संकलित नामावलीबाट समितिको नेतृत्व र अन्य सदस्यहरू चयन गर्ने बताइएको छ ।
कार्यकारिणी समितिमा नयाँ सदस्यहरू थप्ने गरी गठित कार्यदलको प्रतिवेदन उपर छलफल भएपनि चाँडै नै थप गृहकार्य गरेर नयाँ सदस्यको टुंगो लगाउने निर्णय भएको छ । कार्यकारिणीमा नयाँ सदस्यका लागि दश जनाको नाम प्रस्ताव आएको बताइएको छ । जसपामा तीन जना विभागीय प्रमुखसहित हाल ३५ सदस्सीय कार्यकारिणी समिति रहेको छ ।