
चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । सोमबार राति वेष्टहम युनाइटेडविरुद्ध २-१ को पुनरागमन जित हात पार्दै चेल्सी अंकतालिकामा चौथो स्थानमा उक्लेको हो ।
चेल्सीको घरेलु मैदानमा भएको खेलमा जारोर्ड बोवेनले ४२औं मिनेटमा गोल गर्द वेष्टहमलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा चेल्सीले पुनरागमन गर्न सफल भयो । चेल्सी पछिल्ला आठ खेलमा दोस्रो पटक विजयी भएको हो।
६४औं मिनेटमा पेड्रो नेटोले चेल्सीका लागि बराबरी गोल फर्काए । त्यसको दश मिनेटपछि वेष्टहमका आरोन वान विसाकाले आत्मघाती गोल गर्दा चेल्सीले २-१ को अग्रता बनाएको थियो । अन्तिमसम्म सोही नजिता कायम रहँदा चेल्सी विजयी भयो ।
२४ खेलबाट ४३ अंक जोडेको चेल्सीले म्यानचेष्टर सिटीलाई पछि पारेको छ भने तेस्रो स्थानको नटिङहम फरेस्टसँग अंकदूरी ४ मा झारेको छ । वेष्टहम २४ खेलबाट २७ अंकसहित १५औं स्थानमा छ ।