२३ असार २०८३, मंगलबार
वैदेशिक सहयोगमा प्रतिबन्ध

‘यूएसएड’ बन्द गर्ने ट्रम्प प्रशासनको घोषणा, कर्मचारीलाई घरमै बस्न भनियो

माघ २३, २०८१
काठमाडौं
‘यूएसएड’ बन्द गर्ने ट्रम्प प्रशासनको घोषणा, कर्मचारीलाई घरमै बस्न भनियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गर्ने घोषणा गरेको छ । ट्रम्प प्रशासनले यूएसएआईडीलाई बन्द गरेर परराष्ट्र मन्त्रालयमा गाभ्ने घोषणा गरेको हो । 

अमेरिकाको ‘सरकारी दक्षता विभाग’का निर्देशक एलन मस्कले आफू र राष्ट्रपति ट्रम्पले ‘यूएसएआईडी’ बन्द गर्न लागेको घोषणा गरेका हुन् । मस्कले सोमबार आफ्नै सामाजिक सञ्जाल ‘एक्स’द्वारा आयोजित एक प्रत्यक्ष सत्रमा बोल्दै यूएसएआईडी बन्द गर्ने विषयमा राष्ट्रपतिसँग विस्तृत कुराकानी भएको बताएका थिए । ‘यसलाई बन्द गर्नुपर्छ भन्ने विषयमा राष्ट्रपति सहमत छन्,’ मस्कले भनेका छन् । 

यूएसएआईडी सुधार्नै नसक्ने अवस्थामा पुगेको मस्कको दाबी छ। सहायता एजेन्सीका कर्मचारीहरूलाई घरमै बस्न भनिएको छ । मस्कको घोषणासँगै यूएसएआईडीका कर्मचारीहरूलाई सूचना जारी गर्दै वासिङ्टनस्थित मुख्यालय प्रवेश नगर्न निर्देशन दिइएको छ । समाचार संस्था रोयटर्सले सयौं कर्मचारीलाई बिदामा पठाइएको जनाएको छ। 

त्यससँगै ६ सय कर्मचारीलाई यूएसएआईडीका कम्प्युटर प्रणालीको पहुँचमा रोक लगाइएको समाचार संस्था एपीले जनाएको छ। यूएसएआईडीको वेबसाइट पनि अनलाइनबाट हटाइएको छ। 

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यूएसएआईडी विदेश मन्त्रालयअन्तर्गत ल्याइएको र आफू कार्यवाहक प्रशासक भएको बताएका छन् । यूएसएआईडीको जनशक्तिमा भारी कटौती गरिने र मानवीय सहायता एजेन्सीका रूपमा रहने ट्रम्प प्रशासनले जनाएको छ ।

एजेन्सीले नेपाललगायत विश्वभर अर्बौं डलरको सहायता वितरण गर्दछ । ट्रम्पको निर्णयले यसमार्फत् सञ्चालित स्वास्थ्य र पोषणसम्बन्धी धेरै कार्यक्रमलाई असर गर्ने निश्चित छ । यूएसएआईडीले विश्वभरका गैरसरकारी संस्था, सहायता समूह र गैर-लाभकारी संस्थाहरूलाई अरबौं डलर सहायता प्रदान गर्दछ।

यूएसएआईडीले युक्रेन, इथियोपिया, जोर्डन, कङ्गो, सोमालिया, यमन, अफगानिस्तान, बंगलादेश, म्यानमार, नाइजेरिया, दक्षिण सुडान र सिरियालाई महत्वपूर्ण सहायता प्रदान गर्दछ।

अमेरिकी राष्ट्रपतिले यसअघि ९० दिनका लागि विदेशमा दिइने सबै प्रकारका सहयोगमा प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । विदेश नीति पुनरावलोकन नभएसम्म यो प्रतिबन्ध लागू हुनेछ।

तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले सन् १९६१ मा यूएसएआईडी स्थापना गरेका थिए। यसमा विश्वभर करिब १० हजार कर्मचारीहरू छन् । यसको वार्षिक बजेट करिब ४० बिलियन डलर छ, जबकि विदेशी सहायताका लागि अमेरिकी सरकारको कुल बजेट ६८ बिलियन डलर छ।

राष्ट्रपति ट्रम्प र उनका शीर्ष सल्लाहकार अर्बपति एलन मस्क यूएसएआईडीको कठोर आलोचक हुन् ।
गत सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यो एजेन्सी ‘कट्टरपन्थी वामपन्थी’द्वारा सञ्चालित भएको आरोप लगाएका थिए । 

ट्रम्प प्रशासनमा सरकारी खर्च कटौती गर्न बनेको विभागका अनौपचारिक प्रमुख मस्कले पनि यूएसएआईडी बन्द गर्ने कुरा गरेका थिए । गत हप्तामा यूएसएआईडीका दुई शीर्ष अधिकारीहरूलाई बिदामा पठाइएको थियो । यूएसएआईडीविरुद्ध भ्रष्टाचार र आर्थिक अनियमितताको आरोपबाहेक मस्कले धेरै गम्भीर आरोप लगाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्