
भेरी नदीको पानी सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा ल्याउने बाटो खुलेको छ । मन्त्रिपरिषद् बैठकले आयोजना निर्माण स्थलमा रहेका रुख कटानको अनुमति दिएसँगै भेरी नदीको पानी वीरेन्द्रनगरमा ल्याउने बाटो खुलेको हो ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रुख कटान अनुमति दिएसँगै आयोजना तीव्र गतिमा अघि बढ्ने नगरवासीले आशा गरेका छन् ।
मन्त्रिपरिषद्ले रुख कटान अनमति दिएसँगै अब अब आयोजनाको काम तीव्र गतिमा अघि बढ्ने वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले बताइन् । 'यो परियोजनाले वीरेन्द्रनगर नगरवासीको खानेपानीको समस्या समाधान गर्नेछ । परियोजना समयमै सम्पन्न हुनेछ,' नगर प्रमुख मोहनमाया ढकालले भनिन्, 'अबको साढे दुई वर्षमा भेरीको पानी उपत्यका झर्नेछ । उपत्यकावासीले २५ वर्षसम्म पानीको हाहाकार खेप्नु पर्ने छैन ।' ढकालले तीन वर्षमा वीरेन्द्रनगरमा पानी झर्ने बताइन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा वर्षायामबाहेक अन्य समयमा सधैं खानेपानीको हाहाकार हुन्छ । झुप्रा र बोरी खोलाबाट ल्याइएको पानी पाउन उपभोक्ताले सात दिनसम्म कुर्नुपर्ने बाध्यता छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता समितिले यी दुई खोलाबाट वीरेन्द्रनगरमा पानी सप्लाई गर्दै आएको छ ।
अहिले वीरेन्द्रनगरको खानेपानी समस्या समाधान गर्न भेरी पम्पिङ आयोजनाको निर्माण कार्य भैरहेको छ । निर्माण कम्पनीले ज्वाइन्ट सर्भेको कार्य सम्पन्न गरिसकेको छ भने क्रसर प्लान्ट, ब्याचिङ्ग प्लान्ट र निर्माण सामग्रीको परीक्षण गर्न ल्याब स्थापना गरिसकेको हो ।
२८ अगस्ट २०२४ मा चीनको झेजियांग टिम्स इन्टरनेश्नल इकोनोमी एण्ड टेक्निकल कर्पोरेशन कम्पनी लिमिटेडसँग तीन अर्ब ५ कोड ८ लाख १५ हजार २८० रुपैंया ६१ पैसामा भेरी पम्पिङ आयोजनाको निर्माणको सम्झौता भएको थियो । कम्पनीले पहिलो पेस्कीस्वरूप २६ करोड ३० लाख रुपैंया भुक्तानी लिइसकेको छ ।