
पोखरामा पार्टी (नेपाली कांग्रेस)ले औपचारिकरूपमा ठूलो कार्यक्रम गरे पनि आफूलाई नबोलाएको भन्दै डा. शेखर कोइरालाले आपत्ति जनाएका छन् ।
सातै प्रदेश र ७७ जिल्लाका सभापति, जिल्लाका प्रशिक्षण शाखा प्रमुख तथा उपप्रमुखलाई प्रशिक्षण एवं अभिमुखीकरणका लागि केन्द्रीय नीति तथा अनुसन्धान प्रशिक्षण प्रतिष्ठानले ३ दिने कार्यक्रम राखे पनि शेखरलाई संस्थापनले बोलाएको छैन ।
सभापति शेरबहादुर देउवा, पार्टीका अधिकांश पदाधिकारीसहितका नेताको जमघट हुँदा आफूलाई छुटाइएको भन्दै कोइरालाले आपत्ति जनाएका हुन् । पार्टीले राखेको ठूलो कार्यक्रममा निम्तो नै नगएपछि आफू नगएको कोइरालाले लोकान्तरसँग बताए ।
‘पार्टीले देशभरका प्रदेशको नेतृत्व, जिल्ला सभापतिदेखि शीर्ष नेतालाई बोलाएर पोखरामा कार्यक्रम गर्यो, तर मलाई बोलाइएन,’ शेखरले भने, ‘पार्टीले नबोलाएपछि ठूलो कार्यक्रम छ भनेर त्यत्तिकै जाने कुरा हुँदैन । यसैले म गइनँ ।’
शेखरले आफ्नो व्यक्तिगत सवालमात्रै नभएको भन्दै पोखरा घटना कांग्रेसका लागि विडम्बना भएको बताए । ‘यो शेखर कोइरालाको व्यक्तिगत कुरा होइन । पार्टीको एउटा ठूलो कार्यक्रममा यसरी छुटाइएपछि धेरै नेता बोलेका छन् । केन्द्रीय सदस्यदेखि सांसदसम्मले असन्तुष्टि जनाएका छन्,’ शेखरले भने, ‘यो विडम्बनापूर्ण छ । सभापतिजी र पदाधिकारीहरू पार्टीको लाइनलाई इन्डोर्स गर्नुपर्छ भनेर बोल्नुहुन्छ । तर, यस्तो व्यवहार गर्नुहुन्छ । उहाँहरूले भनेजसरी कसरी बोल्ने ?’
पोखरामै पुगेर पनि सभापतिसहितका नेताले पार्टीलाई एकढिक्का बनाउनुपर्ने बताएको तर व्यवहार उल्टो गरेको शेखरको टिप्पणी छ ।
‘मैले सुनेँ, पोखरा पुगेर सभापति र महामन्त्रीहरूले पार्टीलाई एकढिक्का बनाउनुपर्छ भन्नुभयो,’ शेखरले भने, ‘व्यवहार यस्तो छ, उहाँहरूले भन्नुभएको जस्तो एकढिक्का के हो ? यस्तो व्यवहारले पार्टी एकढिक्का होला ?’
पोखरामात्र होइन, यसअघि विराटनगरमा कार्यक्रम गर्दा पनि आफूलाई अनावश्यक रूपमा पेल्ने काम भएको शेखरले बताए ।
‘विराटनगरमा धेरै पहिले मिति दिएर प्रदेशका पालिका सभापतिको भेला बोलाइएको थियो । भेला बोलाउन पाइँदैन भनेर कहीँ लेखिएको छैन । एउटा जीवन्त पार्टीमा यस्तो चलिरहन्छ,’ शेखरले भने, ‘त्यो कार्यक्रममा नजान भनेर सभापतिको पीए र मुख्य सचिवदेखि केन्द्रीय सदस्यसम्मले फोन गरे । रोक्न खोजे । त्यत्तिले नपुगेपछि भेला गर्न पाइँदैन भनेर केन्द्रीय कार्यालयले परिपत्र गर्यो । यस्तो गरेर सभापति र पार्टीले कांग्रेसलाई कहाँ पुर्याउन खोजेको ? के गर्न खोजेको ? यसको राम्रो सन्देश गएको छैन ।’
कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पूर्व पदाधिकारी र केन्द्रीय सदस्यबाहेकलाई मात्रै कार्यक्रममा बोलाइएको बताए ।
‘प्रदेशका, जिल्लाका सभापति र उपसभापति, केन्द्रीय पदाधिकारीलाई बोलाइएको हो । तर, पूर्व पदाधिकारी र केन्द्रीय सदस्यलाई बोलाइएको थिएन,’ विश्वकर्माले भने, ‘शेखर दाइमात्रै होइन, अन्य पूर्व पदाधिकारी र केन्द्रीय सदस्यले पनि यस्तै गुनासो गर्नुभएको छ । नियतवश उहाँलाई मात्रै नबोलाइएको होइन ।’
शेखर १४ औं महाधिवेशनमा सभापतिमा देउवासँग प्रतिस्पर्धा गरेको अर्को समूहका प्रभावशाली नेता हुन् । महाधिवेशनमा ४० प्रतिशत मत ल्याएको पक्षका प्रभावशाली नेतालाई बेवास्ता गरिएपछि सो समूह असन्तुष्ट बनेको छ ।
सभापतिको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी बनेपछि शेखरलाई दोस्रो वरीयताको नेता दिनुपर्ने माग उक्त पक्षले गर्दै आएको छ । तर, संस्थापनले उनलाई बेवास्ता गर्दै आएको छ । महाधिवेशनको ४० प्रतिशत हिस्सालाई बेवास्ता गरिएको भन्दै शेखर पक्ष थप आक्रामक हुने तयारीमा छ । विराटनगरको कार्यक्रममा सिंगो पार्टी लागेपछि आफूलाई बोलाइए पनि अर्को कार्यक्रममा नगएको शेखरले बताए ।
‘पालिका सभापति भेलालगत्तै विराटनगरमा पार्टीको प्रदेश सम्मेलन थियो । त्यो सम्मेलनका लागि भन्दै मलाई निमन्त्रणा पनि आएको थियो,’ शेखरले भने, ‘तर, पालिका सभापतिको कार्यक्रममा त्यस्तो व्यवहार गरेपछि म अर्को कार्यक्रममा नगएको साँचो हो ।’
अझै आक्रामक बन्ने तयारी
शेखरले १५ औं महाधिवेशनमा फेरि सभापतिमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् ।
यसैका लागि प्रदेश र जिल्लामा कार्यक्रम राख्दै शेखरले अभियानलाई अगाडि बढाएका छन् । पार्टीले पेल्ने मुड बनाएको भन्दै अझै आक्रामक कार्यक्रम राखेर महाधिवेशनको तयारीमा जुट्ने उनको मनस्थिति देखिन्छ ।
‘कोशी र सुदूरपश्चिममा पुगेर भेटघाट र कार्यक्रम गरिसकें । अब कर्णाली, मधेश र बाँकी प्रदेशमा पनि कार्यक्रम राखेर पुग्छु,’ शेखरले भने ।
शेखर निकटका नेता गुरुराज घिमिरेले पार्टी नेतृत्वले परम्परा र संस्कारलाई बलपूर्वक भत्काउने काम गरेको आरोप लगाए ।
‘सात प्रदेश र ७७ जिल्ला सभापति तथा उपसभापतिका लागि पोखरामा आयोजित अभिमुखीकरण कार्यक्रम निकै राम्रो हुँदाहुँदै पनि उदेकलाग्दो देखिएको छ । यसले पार्टी परम्परा र संस्कारलाई बलपूर्वक भत्काउने कोशिश गरेको छ,’ घिमिरेले भने, ‘यसअघि कोशी प्रदेशमा यस्तै अभ्यास गरिएको थियो । यस्ता अभ्यासले पार्टीको बागडोर लिएका जिम्मेवार नेतृत्व गणको हामीले जे गरे पनि हुन्छ भन्ने अभिमानलाई झल्काउँछ र आउने पुस्तालाई अराजक बन्न प्रेरित गर्छ ।’
पार्टी पद बोक्नेको मात्रै नभएको भन्दै उनले पार्टी कार्यक्रमलाई गुटको जस्तो बनाउन नहुने बताए । ‘पार्टी भनेको पद ओगटेका २/४ व्यक्ति मात्र होइनन्, मूलतः ८ लाख ६० हजार क्रियाशील सदस्य हुन् । पार्टीभित्रको आफ्नो प्रतिस्पर्धीलाई सँगै लिएर हिँड्न नसक्नु नेतृत्वको अफलता हो,’ घिमिरेले भनेका छन्, ‘पार्टीको कार्यक्रमलाई गुट भेलामा परिणत गर्न खोज्ने र आफूलाई अरूभन्दा गतिलो ठान्नेहरू समेत चुइँक्क बोल्न नसकेको देख्दा जग हँसाइ भएको छ ।’