
सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशमा सुशासन र विकासका लागि अध्यादेश ल्याइएको बताएका छन् ।
भक्तपुरमा भएको एक कार्यक्रममा उनले अध्यादेश संसद् छल्नका लागि नभई छिटो कानून निर्माणका लागि ल्याइएको स्पष्ट पारे ।
मन्त्री गुरुङले भने, 'अध्यादेश जनताको अधिकार खोस्न ल्याइएको होइन, देशको सङ्कट चाँडो समाधान गर्न ल्याइएको हो । विद्यमान कानुनमा सुधार गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यलाई ध्यानमा राखेर नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्न ल्याइएको हो ।'
अध्यादेश संसद्बाट पारित गर्ने भएकाले संसद्लाई छल्ने कुरै नहुने उनको भनाइ थियो ।
उनले अहिले पनि देश २०१४ साल, २०१८ सालको कानुनले चलिरहेकाले छिटो कानून ल्याउन अध्यादेश ल्याएको बताए । मन्त्री गुरुङले भने, 'विधेयक बनाउने समितिमा माननीय नै हुँदैनन्, कहिले कोरम पुग्दैन, संसद्मा एउटा विधेयक पास गर्न ५/६ वर्ष लाग्छ ।'
उनले प्रेस स्वतन्त्रताका नाममा छाडातन्त्र रोक्न कानून ल्याउनुपरेको उल्लेख गरे ।