
नेपाली कांग्रेसले संसद्मा विचाराधीन विधेयकहरू पारित गर्न प्रभावकारी ढंगले प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिएको छ ।
बिहीबार संसद् बैठकअगाडि बढेको संसदीय दलको बैठकले आवश्यक विधेयक अबिलम्बअगाडि बढाउने स्थिति सिर्जना सरकारसँग माग गर्दै यिनीहरूको पक्षमा प्रभावकारी भएर लाग्न सांसदहरूलाई निर्देश गरेको हो ।
‘आवश्यक विधेयक अबिलम्ब संसद्मा प्रस्तुत गर्न यो बैठक सरकारलाई आग्रह गर्दछ,’ बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘संसद्मा विचाराधीन रहेका विधेयकहरू आउँदो अधिवेशनबाट पारित गर्न नेतृत्त्वदायी भूमिका निर्वाह गर्न कांग्रेस सांसद र सदस्यलाई यो बैठक निर्देश गर्दछ ।’
बैठकले संसद्को प्रभावकारी विषय उठाउन, जनताका सरोकारका विषय उठाउन पनि सांसदहरूलाई निर्देश गरेको छ ।
संसद् बैठक र समितिका बैठकमा सबैभन्दा ठूलो पार्टीका रूपमा आफ्ना सांसदहरू उपस्थित नभएको भन्दै कांग्रेसले उनीहरूलाई कडा निर्देश गरेको हो ।
सरकारले कानुनी अलमल हटाउन र कार्यविधिलाई स्पष्ट गर्न २९ वटा ऐनका लागि अध्यादेश ल्याएको भन्दै समर्थन गर्ने निर्णय बैठकले गरेको छ ।