
सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–४ नामासेबाट प्रसूति व्यथा लागेको १८ घण्टापछि एक महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । भोटखोला–४ नामासेकी ३६ वर्षीया याङजम भोटेको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत आज उद्धार गरिएको हो ।
यातायातको पहुँच नपुगेको उत्तरी क्षेत्र भोटखोला भौगोलिक रुपमा विकट मानिन्छ । प्रसूति व्यथा लागेर बुधबार साढे १० बजे नामासे सामुदायिक स्वास्थ्य इकाइमा भर्ना भएकी भोटेलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको भोटखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा प्रमुख प्रशासकीय फुर्पु भोटेको भनाइ छ । उनलाई काठमाडौँको थापाथलीस्थित प्रसूतिगृह पठाइएको छ ।
सरकारले दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गरी तोकिएका अस्पतालमा पुर्याउने व्यवस्था मिलाउने गरेको छ ।