
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले शेरा दरबारको जग्गामा फलेको हरियो मकै आएको प्रसंग नबिर्सन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् ।
प्रचण्डले बिहीबार संसद्मा सम्बोधनका क्रममा शेरादरबार जग्गामा आफ्नो संलग्नता भए छानबिन गर्न माग गरेपछि रिमालले शुक्रबार सामाजिक संजालमा यस्तो आग्रह गरेका हुन् ।
‘शेरादरबारको जग्गामा फलेको हरियो मकैको खाजा सगर्व खाएको प्रसंगसहित तपाईंकै परिवारका सदस्यले पोस्ट गरेको फोटो त सार्वजनिक नै छ नि हैन ? सीआईबीको छानबिनपछि अहिले त्यो जग्गा सरकारको नाममा ल्याउने प्रक्रियामा छ,’ रिमालले सामाजिक संजालमा लेखेका छन्, ‘संसद्मै प्रश्न उठाउनु भएकोले मात्र यति जानकारी दिएको हो है ।’
बिहीबार संसद्मा सम्बोधन गर्दै प्रचण्डले शेरा दरबार प्रकरणमा आफैंबाट अनुसन्धान शुरू गर्न आग्रह गरेका थिए ।