
सङ्घीय संसद्अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले कर्णाली प्रदेशमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै समयमा सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा आज बसेको समितिको बैठकले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमा नै सञ्चालन गर्ने गरी काम अघि बढाउन निर्देशन दिएको हो ।
समितिका सभापति अम्मरबहादुर थापाले समयमै प्रतियोगिता सञ्चालन गर्न ‘फास्ट ट्र्याक’मा काम गर्न निर्देशन दिए । उनले आफूहरूको चाहना समयमै प्रतियोगिता होस् भन्ने रहेको बताए ।
'समितिको चाहना समयमै खेलकुद होस् भन्ने हो । समयमा खेलकुद सञ्चालन गर्न कसरी ‘फास्ट ट्र्याक’मा लैजान सकिन्छ, त्यो गर्नुस् । विधिसम्मत समयमै गर्नुस्,' सभापति थापाले भने ।
दुई वर्षअघि पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ मङ्सिर २ देखि ९ गतेसम्म कर्णालीमा आयोजना गर्ने घोषणा गरिएको थियो ।
तर तोकिएको समयमा प्रतियोगिता नहुने निश्चित भएपछि आगामी चैत २३ देखि ३० गतेसम्म आयोजना गर्ने गरी समय निर्धारण गरिएको थियो ।