२७ असार २०८३, शनिबार

नागार्जुनका मेयर बस्नेतविरुद्ध ८ करोड ७० लाख गैरकानूनी सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दा दायर

माघ २७, २०८१
काठमाडौं
नागार्जुनका मेयर बस्नेतविरुद्ध ८ करोड ७० लाख गैरकानूनी सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बस्नेतविरुद्ध गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

बस्नेतले सार्वजनिक पदको दुरुपयोग गरी उक्त गैरकानूनी सम्पत्ति आर्जन गरेको दाबी आयोगको छ । नागार्जुन नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुअघि र सो पदमा रहँदा उनले आर्जन गरेको सम्पत्ति र खर्चको तुलना गर्दा स्रोत स्पष्ट नभएको रकम पाइएपछि मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

अख्तियारले गरेको जाँच अवधिमा बस्नेत तथा उनको परिवारका सदस्यहरूले कुल १९ करोड ९५ लाख ७४ हजार ८६२ रुपैयाँ आय आर्जन गरेका थिए। तर, सोही अवधिमा उनले २८ करोड ६५ लाख ६१ हजार ९६७ रुपैयाँ ९४ पैसा खर्च तथा लगानी गरेको पाइएको छ । यसरी आयभन्दा ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ ६९ पैसा बढी खर्च गरेको अभियोगपत्रमा उल्लेख छ ।

बस्नेतले जग्गा खरिद, घर निर्माण, अपार्टमेन्ट खरिद, सवारी साधन खरिद, विदेश यात्राका लागि अमेरिकी डलर सटही, छोराको विवाह खर्च, बैंक तथा वित्तीय संस्थामा ठूलो लगानी, बीमा शुल्क भुक्तानी, सुन तथा बहुमूल्य गरगहना खरिद जस्ता कार्यमा ठूलो परिमाणको रकम खर्च गरेका थिए।

साथै, बस्नेतले आफू नगर प्रमुखमा रहँदा वार्षिक रूपमा पेश गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्ति लुकाई झुटो विवरण पेश गरेको पाइएको छ।

गैरकानूनी रूपमा आर्जन गरिएको सम्पत्तिबाट बस्नेतकी श्रीमती उर्मिला बस्नेतका नाममा समेत घरजग्गा खरिद गरिएको देखिएकाले उनलाई पनि प्रतिवादी बनाइएको छ । अख्तियारले उक्त सम्पत्ति जफत गर्न पनि माग गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्