
मोरङको सुन्दरहरैंचा उद्योग वाणिज्य संघले सार्वजनिक शौचालय निर्माणका लागि एक्स्पो सञ्चालन गर्ने भएको छ ।
विराटचोकमा माघ ३० देखि फागुन १० गतेसम्म एक्स्पो सञ्चालन हुनेछ । आयोजक ‘सुन्दरहरैंचा विराट एक्स्पो’ मूल समारोह समितिले आइतबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो ।
यस अगाडि ४ वटा मेला लगाइसकेको वाणिज्य संघले २ वटा सार्वजनिक शौचालय निर्माण गरेर सञ्चालनमा ल्याएको छ भने २ वटा निर्माणको अन्तिम चरणमा पुगेका छन् ।
सलकपुर, विराटचोकमा अढाई तले पुस्तकालय, सैलुन, बाथरुमसहितको शौचालय निर्माण भइसकेका छन् भने खोर्साने तथा हरैंचामा भने निर्माण कार्य अन्तिम चरणमा पुगेको उद्योग वाणिज्य संघ सुन्दरहरैंचाका अध्यक्ष नारायण कार्कीले बताए ।
पालिकाका ८ वटा शौचालय निर्माण गरिने एक्स्पो –४ का संयोजक भोलेश्र दुलालले बताए । ‘हामीले ८ वटा अत्याधुनिक सार्वजनिक शौचालय बनाउने घोषणा गरेर अगाडि बढेका छौं’, दुलालले भने, ‘दुई वटा सञ्चालनमा छन् । दुई वटा निर्माणको अन्तिम चरणमा छन् र थप ४ वटाको जग्गा खरिद गर्ने काम मात्रै सकिएको छ ।’
संयोजक दुलालका अनुसार ११ दिनसम्म चल्ने एक्स्पोमा १९४ वटा स्टल रहेका छन् । एक्स्पोमा ३ लाख ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । एक्स्पो सञ्चालनका लागि करिब ४ करोड खर्च र १ करोड बचत हुने अपेक्षा गरिएको छ ।