
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले खानेपानी मन्त्रालयमा आगलागी घटनाको छानबिनदेखि प्रेम विवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारलाई न्याय दिन माग गरेका छन् ।
समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सांसदहरूले संविधानबाट प्राप्त अधिकारलाई राज्यले संरक्षण गर्न र पीडितलाई न्याय दिन र दोषी उपचार कानुनी कारबाही गर्न माग गरेका हुन् ।
सांसद डा. बेदुराम भुसालले एकअर्कालाई मन पराएर प्रेम विवाह गर्नु मानिसको नैसर्गिक अधिकार भएको बताउँदै उनीहरूको अधिकार हनन गर्नु प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएकाले पीडितलाई न्याय दिन र दोषी उपर कानूनी कारबाही गर्न माग गरे।
सांसद गोपीबहादुर सार्की अछामीले प्रेम विवाह गरेका सत्येन्द्र र नेहाको जोडी अझै पनि असुरक्षित रहेको भन्दै उक्त घटनाबारे गृह प्रशासनले सत्य तथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरे ।
सांसद मायाप्रसाद शर्माले सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा केही दिनअघि भएको आगलागी घटनाको तत्काल छानबिन गर्न सरकार समक्ष माग गरे ।
‘सिंहदरबारमै यस्तो स्थिति हुन्छ भने गाउँको अवस्था कस्तो होला’ भन्दै उनले घटनाको सत्य तथ्य सार्वजनिक गरी दीर्घकालीन रूपमा यस्ता घटना हुन नदिने संयन्त्र बनाउन माग गरे ।
सांसद गङ्गाकुमारी बेलबासेले माइतीघर मण्डलामा धर्नामा रहेका स्वर्गद्वारी गुठी पीडितको माग सम्बोधन गर्न र गुठीको स्वामित्वमा रहेको जग्गामा घरबाससहित बसोबास गर्दै आएका किसानलाई मोही हक पाउने पाउनुपर्ने माग गरिन् ।
सांसद तारामान स्वारले अछामको ढकारी गाउँपालिकाका दुई किशोरीको जघन्य हत्याकाण्डको घटना नसेलाउँदै धनगढीको एक विद्यालयमा कक्षा ७ मा पढ्ने बाजुरा छेडेदहकी एक किशोरीलाई अपहरण गरी बलात्कारको घटना बाहिरिएको भन्दै उक्त घटनाका दोषीलाई पक्राउ गरी कानूनी कारबाहीको माग गरे ।