
नेकपा माओवादी केन्द्रका सांसद सुरेश आले मगरले पानीजहाज चढेर संसद्मा अध्यादेश आउन लागेको भन्दै कटाक्ष गरेका छन् ।
सोमबार राष्ट्रियसभा बैठकको विशेष समयमा माओवादी सांसद आलेले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै अध्यादेशहरू पानीजहाज चढेर संसद्मा आउने अपेक्षा गरेको बताएका हुन् ।
‘अध्यादेश पौडी खेल्दै राष्ट्रियसभामा आउने छन्, किनकि हाम्रो देश यस्तो हो– ठेलागाडामा चढेर अमेरिका पुग्न सकिन्छ । हामीले गणतन्त्रको कुरा गर्दा कुनै विशिष्ट महानुभावले ठेला गाढा चढेर अमेरिका पुगिन्छ भनेर ? खिसिट्युरी गर्नुभएको थियो । आखिर गणतन्त्र आयो । सायद ठेला गाढा चढेर आएको होला । ती अध्यादेश पनि पौडी खेल्दै आइपुग्ने छन् !,’ सांसद आलेले भने ।
दोस्रो जनआन्दोलन पूर्व ओलीले बयलगाडा चढेर अमेरिका पुगिन्न भनेर अभिव्यक्ति दिएको भनेर आलोचना भएको थियो ।
ओलीले यसअघि प्रधानमन्त्री बनेको समयमा नेपालमा पानीजहाज चलाउने बताएका थिए । त्यसैप्रति लक्षित गर्दै सांसद आलेले कटाक्ष गरेका हुन् ।
आलेले सरकारले अध्यादेश ल्याउन पाउने भए पनि गलत नियत राखेर ल्याएकाले विरोध गर्नुपरेको बताए ।