२९ असार २०८३, सोमबार
एमाले महासचिवको सस्तो स्टाटस

शंकर पोखरेलको असान्दर्भिक अभिव्यक्ति- कम्युनिस्ट एकताको बेमौसमी राग !

माघ २८, २०८१
काठमाडौं
शंकर पोखरेलको असान्दर्भिक अभिव्यक्ति- कम्युनिस्ट एकताको बेमौसमी राग !

पछिल्लो साढे ६ महिनायता ७ बुँदे समझदारीप्रति प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिबद्धता नजनाएको हप्ता सायद छैनन् । सार्वजनिक मञ्चमा होस् कि पार्टी कार्यक्रममा, ओलीले सहमति भएको भन्दा एक साता अगाडि नै देउवालाई सत्ता हस्तान्तरण गर्छु भन्न छुटाउँदैनन् । सत्ताको पालो कुरिरहेका देउवा पनि ओलीलाई भरोसा दिलाउन कुनै कसर बाँकी नराखी बोलिरहेका छन् । उनी भनिरहेका छन् ‘ओलीजीलाई अविश्वास गर्नुपर्ने कुनै कारण छैन, ढुक्कले काम गर्नुस् ।’

आ–आफ्ना पार्टीमा ८० प्रतिशत भन्दा बढी प्रभाव जमाएका यी दुई नेताबीच विश्वास नटुट्दासम्म तत्कालीन सत्ता समीकरण अदलबदल हुने स्थिति छैन । यी दुई दलमध्ये एउटा तयार नभइकन वैकल्पिक समीकरण बन्ने अंकगणित पनि प्रमुख प्रतिपक्षी र विपक्षीसँग छैन । 

सत्ता समीकरण हाँक्ने दुई नेताले निरन्तर ‘सत्ता सहयात्रा २०८४ को चुनावसम्मै जान्छ’ भनिरहेका बेला एमाले महासचिव शंकर पोखरेलको एउटा ‘फेसबुक स्टाटस’ले तरंग पैदा गरेको छ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले एमाले महासचिव शंकर पोखरेलले अध्यादेशमा सहयोग माग्दै आफूलाई फोन गरेको दाबी गत शनिबार गुल्मी पुगेर गरेका थिए । 

पुनले गुल्मीको चन्द्रकोट गाउँपालिकामा माओवादी केन्द्रको अधिवेशनलाई सम्बोधन गर्दै एमाले महासचिवले अध्यादेशमा सघाउन आग्रह गरेको दाबी गरेका थिए । ‘दुई तिहाइको दुहाइ दिने सरकारले अध्यादेशबाट शासन गर्न खोजेको छ । संविधान संशोधनको सहमति गर्दा दुई तिहाइ छ भनेर हामीलाई बाइपास गर्न खोज्नुभयो । राष्ट्रियसभामा बहुमत नभएपछि अहिले हारगुहार गरिरहनुभएको छ’, पुनले भनेका थिए, ‘आजमात्रै म पाल्पामा आइपुग्दा एमालेका महासचिव शंकर पोखरेलजीले फोन गरेर अध्यादेशमा सहयोग गर्न भन्दै हुनुहुन्थ्यो । अस्तिसम्म हामीसँग दुई तिहाइ छ भनेर धाक लगाउँदै हिँड्नुभएको थियो । अब दुई दलीय व्यवस्थामा लान्छौं भन्ने हुँकार गर्नुहुन्थ्यो । अहिले सहयोग गर्नुहोस् भनेर अनुरोध गर्ने ठाउँमा पुग्नुभएको छ ।’

यसपछि आइतबार यसलाई प्रष्ट पार्न एमाले महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखे । जसले झन् विवाद बढाउने र संशय थप्ने काम गर्‍यो । 

वर्षमानजीसँग फोनको कुरा भन्दै महासचिव पोखरेलले आइतबार पौने ११ बजे स्टाटस लेखेका थिए । जसमा पोखरेलले अनौपचारिक कुराकानीलाई सार्वजनिक खपतको विषय बनाएको भन्दै त्यसलाई अनुचित भनेका छन् । 

‘वास्तवमा वर्षमानजीले सार्वजनिक गरेजस्तै सहयोग र याचना गर्नुपर्ने आवश्यकता भएको भए उहाँसँग होइन सिधै माओवादी अध्यक्ष पुष्पकमल दाहालमार्फत् नै हुने थियो’, पोखरेलले लेखेका छन्, ‘आवश्यक ठानिएको विषयमा अहिले पनि हुँदै पनि आएको छ । जस्तो; संक्रमणकालीन न्यायको विषयमा ।’

आफूसँग जोडिएको विषयलाई वर्षमानले सार्वजनिक गरेपछि पोखरेल आइतबार बिहानै बालुवाटार पुगेका थिए । ‘प्रमुख प्रतिपक्षीलाई बल पुग्ने गरी तपाईंले वर्षमानसँग के भन्नुभएको हो ?’ भनेर प्रधानमन्त्रीको सचिवालयले महासचिव पोखरेलसँग सोधखोज पनि गरेको थियो । 

जवाफमा पोखरेलले अनौपचारिक कुराकानी गरेको प्रष्टीकरण दिएका थिए । फोन पनि वर्षमानले नै गरेको पोखरेलले दाबी गरेका थिए । तर, स्टाटसको भाषामा उनी आफैंले फोन गरेको प्रष्ट संकेत गरेका छन् । 

‘उहाँले फोन पनि वर्षमानबाटै आएको थियो, अर्कै विषयमा कुरा गर्दैगर्दा अनौपचारिक कुराकानी भएको बताउनुभएको थियो’, प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘प्रदेशको विषयमा कुराकानी भएको भन्नुभयो । वर्षमानले धेरै टाढाको तिक्तता भयो भन्नुभएछ । त्यसपछि जवाफमा महासचिवले त्यस्तो होइन तपाईंहरू नै टाढिनुभएको हो भन्नुभएछ ।’

यसपछि ठट्टैठट्टामा महासचिव पोखरेलले सरकारले जनताको सेवालाई प्रभावकारी बनाउन सरकारले अध्यादेश ल्याएको भन्दै सहयोग गर्नुस् भनेको बताए थिए । ‘महासचिवले अध्यादेश जनताको सेवाका लागि ल्याएको हो सघाउनुस्, राम्रो कुरालाई प्रतिपक्षमा बसेर सघाउन नहुने के छ र भनेर ठट्टामा भनेको बताउनुभएको छ,’ बालुवाटार स्रोतले भन्यो, ‘अरुकै कुराको सन्दर्भमा ठट्टामा गरिएका कुराकानीलाई अध्यादेशमा सघाउन अनुरोध गरेको भन्दै अनावश्यक प्रचारबाजी गरेको उहाँको भनाइ छ ।’

विवादमा तान्ने गरी वर्षमानको अभिव्यक्ति प्रधानमन्त्रीको सचिवालय त्यस्तो भए ‘एउटा स्पष्टीकरण दिनुपर्‍यो नि’ भनेका थिए । प्रधानमन्त्रीसँगसमेत भेट भएपछि वर्षमानसँग भएको कुराकानीबारे पोखरेलले आइतबार १० बजेर ४७ मिनेटमा लामो स्टाटस लेखेका थिए । 

विवादमा तानिएपछि पोखरेलले प्रष्टीकरण दिन खोज्दा फरक राजनीतिक आशय लाग्ने भाषाको पनि प्रयोग गरेका छन् । जसमा ‘फेरि बलियो कम्युनिस्ट आन्दोलनको निर्माण’को लागि वातावरण बनाउन पनि हुन सक्छ भन्ने प्रष्टै उल्लेख गरेका छन् ।

‘जहाँसम्म राजनीतिक ध्रुवीकरणका सन्दर्भमा त्यसप्रति नेकपा (एमाले)को नीति स्पष्ट छ । विगतमा नेताका टाउका जोडेर गरिएको पार्टी एकता असफल भयो’, पोखरेलको स्टाटसमा भनिएको छ, ‘अब पुनः त्यही काम गर्नु उचित हुँदैन । कार्यकर्ताका मन जोडेर बलियो कम्युनिस्ट आन्दोलनको निर्माण अबको बाटो हो । वर्षमानजीलाई फोन गर्नुको अन्तर्य त्यसका लागि वातावरण तयार गर्नु पनि त हुन सक्दछ ।’

प्रष्ट पार्नुपर्छ भन्दा पोखरेलले लामो व्याख्या गर्दा फरक म्यासेज गएको बालुवाटार स्रोत बताउँछ ।  ‘यस्ता कुरा गर्दा अरुले दुरुपयोग गर्छन् । यस्तोमा प्रष्ट पार्नु पार्‍यो नि त भन्दा उहाँले प्रष्ट पार्न खोज्दा लामो लेख्नुभयो । जसले झन् धेरै कुरा आए’, बालुवाटार स्रोतले भन्यो, ‘समीकरणबारे शीर्ष नेताबीच उच्चस्तरको समझदारी भइरहँदा अरुले बोलिरहनुपर्ने स्थिति पनि छैन । उहाँको कुनै नियत र अप्ठ्यारो पार्ने रणनीति पनि होइन ।’

पोखरेलको ‘ओभर भद्रता’, ‘सोझोपन’ र प्रतिक्रिया दिइहाल्ने बानीका विषयमा बालुवाटारमा नेताहरूले पटकपटक सचेत पनि गराउँदै आएका छन् । तर, पोखरेलले आफ्नो शैली छोडेका छैनन् ।

‘महासचिव ओभर भद्र छन् । कसले के गर्छ मेसो पाउँदैनन् । सोझा छन्, कुराको छिटो भेउ पाउँदैनन्’, एमाले स्रोत भन्छ, ‘उनी वर्षमान पुनजस्तो छैनन् बरु वर्षमान शर्मा जस्ता छन्’, एमाले स्रोत भन्छ, ‘अझ पोखरेल शंकर पुन जस्ता छन् ।’

पछिल्लो सरकारलाई अझै रचनात्मक बनाउन गठन गरिएको आठ सदस्यीय राजनीतिक संयन्त्रमा पोखरेल पनि छन् । ८ सदस्यमा पनि विश्वास गर्दै एमालेले पोखरेल र कांग्रेसले गगन थापालाई मुख्य जिम्मेवारी दिएको छ । तर, भरोसा गरेर जिम्मेवारी दिए पनि पोखरेलले सत्ता गठबन्धन टिक्छ र सरकार ढल्दैन भनेर पटकपटक दिँदै आएको अभिव्यक्तिप्रति एमाले र कांग्रेसवृत्त नै आजित भएको छ । 

कांग्रेस महामन्त्री गगन थापाले दुई महिनाअघि नै  पटकपटक ‘शंकर दाइ यसरी नबोल्नुस्’ भनेर सचेत गराउँदै आएका छन् । ‘संयन्त्रले पनि कार्यदलभित्र वर्कआउट गर्ने कुरामा शंकर पोखरेल र गगन थापालाई जिम्मा दिएको हो । उहाँहरूले कार्यदलस्तरमा अध्यादेश, सरकारका प्राथमिकता निर्धारण, अलपत्र विधेयकका विषयमा प्रभावकारी काम पनि गर्नुभएको छ’, एमाले स्रोत भन्छ, ‘तर, कांग्रेस महामन्त्री थापाले शंकर दाइ बाहिर बोल्दा सरकार चल्छ, बहुमत छ, कसैले तोड्न सक्दैन भनेर बोलिरहनु हुन्छ । यस्तो नबोल्नुस् भनेर पटकपटक भनिरहन्छु भन्नुहुन्छ । सरकार ढल्दैन भनेपछि यसैलाई अर्थ्याउने र स्पष्टीकरणलाई समस्या भनेर अर्को पक्षले प्रचार गरिरहेको छ । तर, हाम्रो महासचिव बुझ्नुहुन्न ।’

बालुवाटार स्रोत पनि ‘कुरामा भन्दा काममा ध्यान केन्द्रित गरौं’ भनेर लाग्दा पोखरेलले पटकपटक बेवास्ता गर्ने र टिप्पणी गरिरहने शैलीबाट आजित भएको छ । 

पोखरेलले सामाजिक सञ्जालमा लेख्ने र बोल्ने गरेपछि गृहमन्त्री रमेश लेखकले समेत सोमबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका छन् । लेखकले सोमबार धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै एमालेसँगको सत्ता साझेदारीमा कुनै समस्या नरहेको बताए । 

‘व्यक्तिगत रूपमा कुन नेताले कहाँ के बोल्छन् त्यो राजनीतिक कुरा हो, तर संस्थागत रूपमा नेपाली कांग्रेस र एमालेबीच सत्ता सञ्चालनमा कुनै समस्या छैन’, गृहमन्त्री लेखकले भने, ‘सरकार दुई दलको सम्झौताअनुसार २०८४ को निर्वाचनसम्म अघि बढ्छ, कुनै समस्या छैन ।’

यसअघि एमालेसँग सत्तामा रहेकै बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँग सत्ता समीकरणको प्रस्ताव गरेका थिए । यो कुरा थाहा पाएपछि पटकपटक धोका पाएका कांग्रेस र एमालेले आफूहरूले सात बुँदे सहमति गरेको बताउँदै आएका छन् ।

यसपटक मात्रै होइन, यसअघि पनि सत्ता समीकरण, आन्तरिक राजनीतिका विषयमा पोखरेलले दिने गरेको अभिव्यक्ति आलोचनामा पर्दै आएको छ । यसअघि एमालेले भीम रावलसहितका नेतालाई गरेको अनुशासनको कारबाहीपछि पोखरेलले सामाजिक सञ्जालमा गरेको टिप्पणीप्रति पनि आलोचना भएको थियो । पार्टी अनुशासनबारे एआईको धारणा भन्दै उनले कारबाहीको राजनीतिक औचित्यभन्दा बढी एआईको व्याख्यालाई सहारा लिएको भन्दै  पोखरेलको पार्टीभित्रै आलोचना पनि भएको थियो ।

ओलीको प्रतिबद्धता, देउवाको निरन्तर भरोसा
सात बुँदे सहमतिप्रति सत्ता साझेदार दल कांग्रेसका सभापति शेरबहादुर देउवाले निरन्तर भरोसा दिलाउँदै आएका छन् ।

माघ २२ गते देउवाले पोखरामा प्रदेश, जिल्लाका सभापतिहरूको प्रशिक्षण र अभिमुखीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीलाई ढुक्क हुन भनेका थिए ।

‘अहिले मात्रै होइन । एमाले र कांग्रेसबीच सहमति भयो भने धेरै वर्षसम्म राजनीतिक स्थिरता स्थापित हुनेछ’, प्रधानमन्त्री केपी शर्मा ओलीलाई ढुक्क भएर काम गर्ने आशयमा देउवाले भनेका थिए, ‘सरकार कतिबेला ढल्ने हो । कति दिन चल्ने हो भन्ने पनि थाहा नहुने अस्थिरतामा हो । दुई वटा पार्टी मिलेर सरकार बनेकोले यसको स्थायित्व स्पष्ट छ ।’ 

त्यसअघि माघ १८ गते संसद्‌मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार ढल्ने सपना नदेख्न भनेका थिए । 

‘विपक्षमा रहेका साथीहरूले एउटा कुरामा आफ्नो समय व्यर्थै खेर फालेजस्तो लागिरहेको छ– ‘सरकार ढल्छ । ढल्नै लाग्यो । पुस मसान्त, माघे संक्रान्ति काट्दैन ।’ आदि इत्यादि ।  ‘ढलें–ढलें, ढलें–ढलें म त...’ यो ‘गीत’ अति नै गाइयो,’ ओलीले भनेका थिए, ‘यो ‘गीत’ मनोरञ्जन पार्टी/उत्सवहरूमा सुहाउला, राजनीतिमा सुहाउँदैन । अझ एकजना माननीयले कतै यस गीतलाई श्लील भएन समेत भन्नु भएको सुनेको छु । यस्तो गायन मनोरञ्जनका मञ्चमा गाउनु राम्रो हुन्छ, राजनीतिका मञ्चमा गाउन बन्द गरौं ।’

salt training

कमेन्ट गर्नुहोस्