
सचिव घनश्याम उपाध्यायले अर्थसचिवको जिम्मेवारी पाएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव उपाध्यायलाई अर्थसचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।
अर्थ सचिव डा. रामप्रसाद घिमिरेलाई भने राष्ट्रपति कार्यालय सरुवा गर्ने कुरा भएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।
उपाध्यायले सहसचिव हुँदा कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव भएर काम गरेका थिए ।
ललितपुर र काठमाडौंको प्रमुख जिल्ला अधिकारीका रूपमा काम गरिसकेका उपाध्यायले बागमती प्रदेशको प्रमुख सचिवका रूपमा पनि काम गरेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवका रूपमा चार महिना काम गरेपछि उनको आयोगमा सरुवा भएको थियो । आयोगमा सरुवा भएको सात महिनापछि उपाध्यायलाई सरकारले अर्थसचिवको महत्त्वपूर्ण जिम्मेवारी प्रदान गरिएको हो ।
यसैबीच, सरकारले सहसचिव बाबुराम अधिकारीलाई सचिवमा बढुवा गरेको छ । लुम्बिनी प्रदेशको कायममुकायम (कामु) प्रदेश सचिव रहेका सहसचिव अधिकारीलाई सोमबारको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि अधिकारीसहित मदन भुजेल र चन्द्रकला पौडेलको नाम सिफारिस गरेको थियो ।
जसमध्ये पहिलो नम्बरमा सिफारिस अधिकारीलाई सरकारले सचिवमा बढुवा गरेको हो ।