
खानेपानीमन्त्री प्रदीप यादवले सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सेवालाई राष्ट्रिय प्राथमिकतामा राख्न पहिल गरिने बताएका छन् ।
खानेपानी मन्त्रालयले सोमबार आयोजना गरेको ‘समावेशी, जलवायु–उत्थानशील र सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सेवाको प्रगतिका लागि राजनीतिक प्रतिबद्धता’ विषयक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
मन्त्री यादवले भने, ‘वास सेवाको सशक्तीकरणका लागि सबैभन्दा पहिले आफ्नै पार्टीको केन्द्रीयस्तरबाट कार्यान्वयन गराउने गरी प्रतिबद्धता व्यक्त गर्छु । साथै, सरकारको राष्ट्रिय प्राथमिकतामा पार्नका लागि पहल गर्नेछु ।’
उनले राजनीतिक दल, संघ, प्रदेश र स्थानीय तहका सरकारले एकताबद्ध भएर लिखित प्रतिबद्धता जनाए वास सेवा सुधारमा ठोस उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गरे ।
मन्त्री यादवले यसका लागि तीनै तहका सरकारबीच सहकार्य मजबुत बनाउन नगरपालिका संघ, राष्ट्रिय गाउँपालिका महासंघलगायतका संस्थाहरूसँग सहकार्य गर्दै नीति तथा रणनीतिहरू परिमार्जन गर्न आवश्यक रहेकामा जोड दिए ।
कार्यक्रममा प्रदेशका खानेपानीसँग जोडिएका मन्त्री, नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघका प्रतिनिधिसँग छलफल भएको थियो । छलफलका क्रममा सहभागीहरूले सुरक्षित खानेपानी तथा सरसफाइका लक्ष्यहरू हासिल गर्न सबैले एकताबद्ध भएर काम गर्नुपर्ने र वास सेवालाई सुरक्षित, सबल, तथा समावेशी बनाउन निरन्तर प्रतिबद्ध रहनुपर्ने धारणा व्यक्त गरे ।