
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरणविरुद्ध अनेकन भ्रम र अफवाह फैलाइएको बताएका छन् ।
सोमबार राति (साढे १० बजे) सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले 'सत्ता समीकरणबाट विचलित अस्थिरतावादका हिमायती'हरूले अनेक प्रकारका भ्रम र अफवाहको खेती गरिरहेको टिप्पणी गरेका हुन् ।
उनीहरूले सत्ता समीकरणविरुद्ध जस्तोसुकै कुप्रयास गरे पनि तिनको अभीष्ट पूरा नहुने र हुन नदिइने उनको भनाइ छ ।
'७ बुँदे सहमतिको जगमा बनेको वर्तमान सत्ता समीकरणबाट विचलित भएका अस्थिरतावादका हिमायतीहरू सहकार्यका विरुद्धमा अनेक प्रकारका भ्रम र अफवाहको खेती गरिरहेका छन् । उनीहरूले सत्ता समीकरणका विरुद्धमा जस्तोसुकै कुप्रयास गरे पनि तिनको अभीष्ट पूरा हुने छैन, हुन दिइने छैन । किनकी सहकार्य वर्तमान राजनीतिक परिस्थितिको उपज हो,' उनले लेखेका छन् ।
एमाले महासचिव पोखरेलले केही दिनअघि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई फोन गरेर अध्यादेशमा सहयोग मागेको विषय बाहिर आएको थियो । त्यसपछि पोखरेलले ‘फेसबुक स्टाटस’मार्फत् नै अनौपचारिक कुराकानीलाई सार्वजनिक खपतको विषय बनाएको भन्दै त्यसलाई अनुचित भनेका थिए । तर, स्टाटसमा उनले उल्लेख गरेका केही विषयले विवाद बढाउने र संशय थप्ने काम गरेको छ । पोखरेलले यसैलाई लक्षित गरेर पुन: अर्को स्टाटस लेखेको हुनसक्ने अनुमान छ ।