०६ असार २०८३, शनिबार

मोबाइल खोसाखोसमा झगडा, छुरा प्रहार गरी साथीको हत्या

माघ २९, २०८१
काठमाडौं
मोबाइल खोसाखोसमा झगडा, छुरा प्रहार गरी साथीको हत्या

काठमाडौंको चाबहिलस्थित कुमारीगालमा मोबाइलको निहुँमा एक जनाको हत्या भएको तथ्य खुलेको छ । काभ्रे धुलिखेल नगरपालिका–९ पानीट्यांकी घर भएर काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ नयाँ बस्ती बस्ने अमृत भन्ने संघर्ष कार्कीको छुरा प्रहार गरी हत्या भएको हो ।

घटना सोमबार बिहान ६ बजेको हो । कार्कीले लिएको मोबाइल खोस्ने क्रममा तीन जना मिलेर उनलाई छुरा प्रहार गरिएको प्रहरीले जनाएको छ । उनीहरू सबै साथी साथी हुन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी अपिलराज बोहोराका अनुसार पक्राउ पर्नेमा दोलखा जिरी घर भएर कपन सिमलटार बस्ने युनिक लामा भन्ने नुर्बु शेर्पा, सिन्धुपाल्चोक बाह्रबिसे घर भएर गोकर्णेश्वर बस्ने विशाल तामाङ र झापा भद्रपुर घर भएर गोकर्णेश्वर नै बस्ने क्षितिज कार्की छन्। घटनामा अर्का एक जना फरार छन् । प्रहरीले फरार व्यक्तिको पहिचान भई खोजतलास भइरहेको जनाएको छ । 

‘सामान्य मोबाइल खोसाखोसमा संघर्षमाथि छुरा प्रहार भएको देखिन्छ’, एसपी बोहोराले भने,‘तत्काल घाइतेलाई सिनामंगलस्थित केएमसी अस्पताल लगिएको थियो, चिकित्सकले मृत घोषणा गरे ।’ संघर्षलाई हात, पिठ्युँ र तिघ्रामा छुरा प्रहार गरिएको थियो । 

प्रहरीले घटनामा प्रयोग भएको चक्कु बरामद गरेको छ । विशाल यसअघि दुईवटा मुद्दा र युनिक पाँचवटा मुद्दामा पक्राउ परेर छुटेका अभियुक्त हुन् । 

‘मोबाइलले व्यक्तिको ज्यान लियो । यो घटनालाई हामीले समाजको एउटा विम्बको रूपमा बुझेका छौं’, एसपी बोहोराले भने,‘पक्राउ परेकालाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइएको छ ।’ 

 

salt training

कमेन्ट गर्नुहोस्