
बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध अफिमसहित दुई जना पक्राउ परेका छन् ।
उनीहरूको साथबाट करिब १३ किलोग्राम अफिम र नगद १ लाख ३३ हजार ६ सय ५५ रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुरको मनहरी गाउँपालिका-६ बस्ने ५४ वर्षीय सूर्यबहादुर मोक्तान र कैलाश गाउँपालिका-८ बस्ने ४५ वर्षीय भीमबहादुर मोक्तान रहेका छन् ।
प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको प्र२-०३-००१ प १६१४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिक्कीमा रहेको १३ वटा पोकाबाट उक्त अफिम फेला पारिएको प्रहरीले जनाएको छ ।
यसैबीच, जीतपुरसिमरा उपमहानगरपालिका-२१ स्थित जंगलबाट अवैध लागूऔषध गाँजा करिब २७ किलो ९० ग्राम प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले हेटौंडाबाट वीगञ्जतर्फ जाँदै गरेको बा.प्र.०२-०४४ प ६७५५ नम्बरको मोटरसाइकललाई जाँच गर्न खोज्दा २ जना व्यक्तिहरूले मोटरसाइकल र झोला छाडेर भागेका थिए । उनीहरूले छाडेको झोला तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।