०२ असार २०८३, मंगलबार
असुरक्षित प्रहरी

कार्यस्थलमै असुरक्षित प्रहरी : तीन वर्षमा १७५ माथि आक्रमण

पूर्वप्रहरी भन्छन्- दण्डहीनता बढेकाले निसानामा पर्न थाले प्रहरी
माघ ३०, २०८१
काठमाडौं
कार्यस्थलमै असुरक्षित प्रहरी : तीन वर्षमा १७५ माथि आक्रमण

ठमेलमा गत बिहीबार राति ड्युटीमा खटिएका दुई प्रहरीमाथि कुटपिट भयो । क्वीक रेस्पोन्स टीम (क्यूआरटी)मा खटिएका प्रहरी हवल्दार जुगलाल घर्ती र प्रहरी जवान नगेन्द्रराज विष्टमाथि मादक पदार्थ सेवन (मापसे) गरेर होहल्ला गर्दै हिँडेका युवाले कुटपिट गरे ।

प्रहरीमाथि नै कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा छरपस्ट भएपछि प्रहरीले कुटपिटमा संलग्न अमृत साइन्स क्याम्पस (अस्कल) मा पढ्ने दिनेश सिग्देल र रमेश फुलारालाई पक्राउ गरेर कारबाही अघि बढाएको छ । पाँच जनाविरुद्ध पक्राउ पूर्जी जारी भए पनि नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई उन्मुक्ति दिइयो । एमालेकै दबाबमा जोशीलाई उन्मुक्ति दिइएको स्रोत बताउँछ । 

कुटपिटबाट प्रहरी हवल्दार घर्तीको टाउको र छातीमा चोट लागेको छ भने दायाँ गाला सुन्निएको थियो। यस्तै, जवान विष्टको दायाँ आँखामुनि चोट लागेको छ । उनीहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

ड्युटीमा खटिएका बेला आक्रमणमा पर्ने हवल्दार घर्ती र जवान विष्ट पहिलो पात्र होइनन् । नागरिकलाई सुरक्षा दिने जिम्मेवारीमा रहेका प्रहरी अधिकारीहरू कार्यस्थलमै असुरक्षित रहेका घटनाको फेहरिस्त निकै लामो छ ।  

मंगलबार राति मात्रै कैलालीको धनगढीमा ड्युटीमा खटिएका प्रहरीलाई चक्कु प्रहारको प्रयास भयो । धनगढी उपमहानगरपालिका–३ स्थित ट्राफिक चोकमा मापसे गरेर सडकमा हल्ला गर्दै हिँडेका युवालाई सम्झाउन खोज्दा उल्टै प्रहरीलाई लखेटेर चक्कु हान्ने प्रयास भयो । 

प्रहरीले घटनामा संलग्न भएका आरोपमा धनगढी उपमहानगरपालिका–१४ फुलबारीका टेक बहादुर टमाटालाई नियन्त्रणमा लिएको छ । उनको साथबाट चक्कु समेत बरामद गरेको प्रहरीले जनाएको छ । ‘हरहर महादेव’ भन्दै टमाटाले चक्कु लिएर प्रहरीलाई लखेटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानुङकोटमा गत शनिबार एक प्रहरी जवानलाई निर्घात कुटपिट गरियो । अस्थायी प्रहरी चौकी मानुङकोटमा कार्यरत प्रहरी जवान सुनिल कार्कीमाथि कुटपिट भएको थियो । 

होहल्ला गरेर हिँडेकाहरूलाई सम्झाउन खोज्दा उल्टै कार्कीलाई हातपात भएको थियो । प्रहरीले कुटपिटमा संलग्न चार जनालाई पक्राउ गरेको छ । व्यास– ४ निवासी रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास–१ निवासी सुदीप विकविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ । 

एक हप्ताभित्र काठमाडौंसहित तीन जिल्लामा कार्यक्षेत्रमा खटिएका प्रहरीमाथि नै भएका आक्रमणका घटना हुन् यी । समाजको पहरेदारी गर्ने प्रहरीमाथि नै निरन्तर आक्रमण हुँदा गृह प्रशासन र प्रहरी संगठनमाथि आलोचना हुन थालेको छ । 

null

प्रहरी प्रधान कार्यालयका अनुसार यो आर्थिक वर्षको पुससम्ममा मात्रै प्रहरीमाथि ७२ वटा कुटपिट एवं हातपातका घटना भएका छन् । जसमा प्रहरी जवानदेखि प्रहरी निरीक्षक (इन्स्पेक्टर)सम्मले कुटाइ खाएका छन् । यो आर्थिक वर्षमा धनुषा, सुनसरी, ताप्लेजुङ, खोटाङ, संखुवासभा, उदयपुर, पाँचथर, रौतहट, सर्लाही, मकवानपुर, चितवन, धादिङ, सिन्धुली, तनहुँ, गुल्मी, बर्दिया, दाङ, पूर्वी नवलपरासी, अर्घाखाँची, पाल्पा, रोल्पा, कपिलवस्तु, डडेल्धुरा, बाजुरा, काठमाडौं, ललितपुर र भक्तपुर गरी २७ वटा जिल्लामा प्रहरीमाथि कुटपिटका घटना भएका छन् । 

गाडी चालकलाई सम्झाउन खोज्दा, दुई पक्षीय झगडा मिलाउन खोज्दा, हुलदङ्गा रोक्न खोज्दा, मादक पदार्थ सेवन गरेकालाई गस्तीका क्रममा सम्झाउन खोज्दा र सांगीतिक कार्यक्रमको भीड नियन्त्रण गर्न खोज्दा प्रहरीमाथि कुटपिटका घटना भएको प्रहरी मुख्यालयले जनाएको छ । 

मुख्यालयका अनुसार यो आर्थिक वर्षमा १८ जवान, १३ जना प्रहरी सहायक हवल्दार, २१ हवल्दार, ५ जना वरिष्ठ हवल्दार, ११ जना प्रहरी सहायक निरीक्षक, ९ जना प्रहरी नायब निरीक्षक, एक जना वरिष्ठ नायब निरीक्षक, दुई जना प्रहरी निरीक्षक र एक जना डीएसपी गरी ८१ जनामाथि कुटपिट एवं हातपातका घटना भएका छन् । 

त्यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा ८ जना जवान, ११ जना प्रहरी सहायक हवल्दार, १२ हवल्दार, ६ वरिष्ठ हवल्दार, १६ प्रहरी सहायक निरीक्षक, ६ प्रहरी नायब निरीक्षक, ५ वरिष्ठ नायब निरीक्षक, तीन प्रहरी निरीक्षक र एक जना डीएसपी गरी ६८ जनामाथि कुटपिट एवं हातपातका घटना भएका थिए । 

आर्थिक वर्ष २०७९/०८० मा ८ जना जवान, चार जना सहायक हवल्दार, ६ जना हवल्दार, पाँच जना असई, तीन जना इन्स्पेक्टर गरी २६ जनामाथि कुटपिटका घटना भएका प्रहरी प्रधान कार्यालयको तथ्यांक छ ।

प्रहरी मुख्यालयबाट उपलब्ध विवरण हेर्दा बर्सेनि प्रहरीमाथि कुटपिट तथा हातपातका घटना भइरहेका छन् । समुदाय– प्रहरी साझेदारी कार्यक्रम लागू हुँदा पनि प्रहरीमाथि किन कुटपिटका घटना भइरहेका छन् त ? प्रहरी प्रवक्ता एवं डीआईजी दिनेश आचार्य भन्छन्,‘संयम गुमाएका व्यक्तिहरू प्रहरीमाथि जाइलाग्छन्, प्रहरी हाम्रै सुरक्षाको लागि खटिएको हो भन्ने मानसिकता नभएकाले कुटपिट गर्छन् । तर, प्रहरी जाइलाग्ने कुरा भएन । हामीले पक्राउ गरी कानूनी दायरामा ल्याउने हो, ल्याइराखेका पनि छौं।’ 

पूर्व प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरी दण्डहीनता बढेकाले प्रहरीमाथि कुटपिटका घटना भइरहेका बताउँछन् । ‘प्रहरीका सरुवा तथा बढुवमा राजनीति हाबी हुँदै गएको छ । अभियुक्त पक्राउ गर्दा पनि कुन राजनीतिक दलको हो भनेर सोच्न प्रहरीलाई बाध्य बनाइएको छ’, पूर्वडीआईजी ठकुरीले लोकान्तरसँग भने, ‘पक्राउ परेर मुद्दा चलाउनुपर्नेलाई पक्राउ पूर्जी जारी हुँदैन । यस्तो अवस्थामा प्रहरीमाथि हेर्ने दृष्टिकोणमा ह्रास हुँदै गएको छ ।’ राजनीतिक संरक्षणमा कारबाही गर्नुपर्ने मान्छे जोगाउँदा पनि यस्ता घटना हुने गरेको ठकुरी बताउँछन् । 

यसैबीच, प्रहरीमाथि कुटपिट भएका घटनाले आलोचित भएपछि गृहमन्त्री रमेश लेखकले बुधबार प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई मन्त्रालयमा डाकेर कुटपिटमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् । 

उनले प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुर्व्यवहारका घटनामा दोषी जोसुकै भए पनि छानबिन गरी कारबाहीको दायरामा ल्याउन प्रहरी नेतृत्वलाई निर्देशन दिए । कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकृतलाई बोलाएर लेखकले शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीमाथि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको र दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिए ।

भेटमा आईजीपी कुँवरले प्रहरीमाथि हातपात एवं कुटपिट गर्नेलाई पक्राउ गरी कानूनी दायरमा ल्याउन आफूले ७७ वटै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर जारी गरिसकेको गृहमन्त्री लेखकलाई जानकारी गराएका थिए । 

प्रहरीमाथि भएका आक्रमणको तथ्यांक हेर्नुहोस् :
 

salt training

कमेन्ट गर्नुहोस्