२६ असार २०८३, शुक्रबार

निजी जग्गाको ‘स्लेट खानी’ दर्ता गर्न कानुनी बाटो खुल्यो

माघ ३०, २०८१
म्याग्दी
निजी जग्गाको ‘स्लेट खानी’ दर्ता गर्न कानुनी बाटो खुल्यो

म्याग्दीको मालिका गाउँपालिकामा निजी जग्गामा रहेका स्लेट (ढुङ्गा) खानी दर्ता गर्ने कानुनी बाटो खुलेको छ । 

दरवाङमा आज भएको गाउँसभाले ढुङ्गा खानी तथा उत्खनन्सम्बन्धी ऐन पारित गरेपछि स्लेट खानी दर्ता गरेर सञ्चालन गर्न मिल्ने भएको हो । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले निजी जग्गामा भएका स्लेट खानीलाई प्रक्रिया पूरा गरेर गाउँपालिकाले सञ्चालनको अनुमति दिन मिल्ने कानुनी व्यवस्था गरेको जानकारी दिए । 

“स्थानीय सरकारको क्षेत्राधिकारमा पर्ने निजी जग्गाको स्लेट खानीलाई व्यवस्थित र गाउँपालिकाको आम्दानीको स्रोतका रूपमा विकास गर्न कानुन निर्माण गरिएको हो”, उनले भने, “राष्ट्रिय र सामुदायिक वन क्षेत्रको खानीका विषयमा भने सङ्घीय र प्रदेश कानुन अनुसार प्रक्रिया पूरा गर्नुपर्छ ।”

सभाबाट पारित भएको ढुङ्गा खानी तथा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन ऐन, २०८१ मा स्लेट खानी सञ्चालनसम्बन्धी व्यवस्था गरिएको हो । मालिका गाउँपालिकाको वडा नं १, २ र ३ मा घर, भवन छाउन, भुई र आगनमा विछ्याउन प्रयोग हुने स्लेटका खानीहरू छन् । 

कानुनको अभावमा स्लेट खानीहरू परम्परागत रूपमा उत्खनन् हुँदै आएका छन् । स्लेट खानीको ढुङ्गाको प्रयोग गरेर विदेशबाट टायलको आयात घटाउन सकिने सम्भावना छ । स्थानीयवासीले रोजगारी र आयआर्जनको अवसर सिर्जनाका लागि ढुङ्गा खानीलाई वैधानिकता दिन माग गर्दै आएका थिए । 

हरेकजसो चुनावमा उमेदवारले स्लेट खानीलाई बैधता दिने मुद्दा उठाउँदै आएका छन् । स्लेट खानी सञ्चालनको अनुमति नहुँदा उत्खनन् गरेर निकासीका क्रममा कानुनी झञ्झट हुनुका साथै गाउँपालिकाले आम्दानीको स्रोत गुमाएको थियो । 

सभाले गाउँपालिका प्रहरी सम्बन्धी ऐन–२०८१ र विपन्न नागरिक आर्थिक सहायता ऐन–२०८१ पनि पारित गरेको कार्यपालिकाका प्रवक्ता अनुप गौचनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्