१९ असार २०८३, शुक्रबार

एलन मस्कसँग भारतीय प्रधानमन्त्री मोदीको भेट : टेस्लाले भारतीय बजार पाउने सम्भावना

फागुन २, २०८१
काठमाडौं
एलन मस्कसँग भारतीय प्रधानमन्त्री मोदीको भेट : टेस्लाले भारतीय बजार पाउने सम्भावना

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी भ्रमणका क्रममा अर्बपति व्यापारी एलन मस्कसँग भेटवार्ता गरेका छन् ।

वासिङ्टन डीसीमा भएको भेटमा उनीहरूबीच अन्तरिक्ष अनुसन्धान, विद्युतीय सवारी साधन, प्रविधि नवप्रवर्तन र गभर्नेन्स सुधारजस्ता विषयमा विस्तृत छलफल भएको छ ।

प्रधानमन्त्री मोदीले भेटबारे सामाजिक सञ्जाल एक्समा जानकारी दिँदै भनेका छन्, ‘वासिङ्टन डीसीमा एलन मस्कसँग धेरै राम्रो भेटघाट भयो । हामीले विभिन्न विषयमा छलफल गर्‍यौं, जसमा अन्तरिक्ष, गतिशीलता, प्रविधि र नवप्रवर्तनजस्ता उनका रुचिका क्षेत्रहरू समेटिएका थिए । मैले भारतको सुधारसम्बन्धी प्रयास र ‘न्यूनतम सरकार, अधिकतम शासन’ नीतिको विषयमा पनि चर्चा गरें ।’

प्रधानमन्त्री मोदी प्रविधि र नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै आएका छन् । उनको नेतृत्वमा भारतले स्टार्टअप र कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता क्षेत्रमा व्यापक सुधार ल्याएको छ ।

‘डिजिटल इण्डिया’ अभियानले प्रविधिको पहुँच बढाएको छ भने ‘मेक इन इण्डिया’ कार्यक्रमले भारतलाई उत्पादनमूलक देशका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ ।

मोदी सरकारको ‘न्यूनतम् सरकार, अधिकतम शासन’ नीतिले सरकारी प्रक्रियालाई डिजिटल प्रविधिमार्फत सहज बनाउने उद्देश्य राखेको छ । मस्कसँगको भेटमा उनले यी सुधारात्मक प्रयासबारे चर्चा गरेका थिए ।

मस्कको टेस्ला कम्पनीले भारतमा विद्युतीय सवारीको उत्पादन तथा बिक्री विस्तार गर्ने योजना बनाइरहेको छ ।

टेस्लाले भारतमा कारखाना स्थापना गर्न चाहेको छ, जसका लागि सरकारसँग छलफल जारी छ । मस्कले अघिल्लो वर्ष भारत भ्रमण गर्ने योजना बनाएका थिए, तर व्यक्तिगत कारण देखाउँदै यात्रा स्थगित गरेका थिए ।

यसअघि मस्कले भारतलाई ठूलो बजारका रूपमा हेर्ने बताएका थिए । उनले भनेका थिए, ‘भारतमा विद्युतीय सवारी साधनको ठूलो सम्भावना छ, र हामी यहाँ लगानी गर्न इच्छुक छौं ।’

 भारत सरकारले पनि स्वच्छ ऊर्जा र विद्युतीय सवारीलाई प्राथमिकता दिँदै आयात कर घटाउने सम्भावनाबारे छलफल गरिरहेको छ ।

स्पेसएक्सका संस्थापक मस्क अन्तरिक्ष प्रविधिमा क्रान्तिकारी योगदान पुर्‍याएका व्यवसायी हुन् । भारतको अन्तरिक्ष संस्था इसरोले पनि पछिल्ला वर्षहरूमा उल्लेखनीय सफलता हात पार्दै आएको छ । चन्द्रयान-को सफलतासँगै भारतले अन्तरिक्ष अन्वेषणमा नयाँ उचाइ हासिल गरेकोहो ।

मस्क र मोदीबीच अन्तरिक्ष क्षेत्रमा सम्भावित सहकार्यबारे पनि छलफल भएको छ । स्पेसएक्सको ‘स्टारलिंक’ परियोजना भारतका ग्रामीण क्षेत्रहरूमा इन्टरनेट सेवा विस्तार गर्न उपयोगी हुन सक्ने विषय भारतमा विचाराधीन छ ।

यसअघि स्टारलिंकले भारतमा सेवा विस्तारको प्रयास गरे पनि आवश्यक अनुमति नपाएका कारण रोकिएको थियो ।

मोदी र मस्कबीचको यो भेट भारतको प्रविधि, ऊर्जा, यातायात र अन्तरिक्ष अनुसन्धान क्षेत्रमा सम्भावित लगानीका लागि मार्गप्रशस्त गर्ने संकेतका रूपमा हेरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतमा विदेशी लगानी आकर्षित गर्ने मोदी सरकारको नीतिले मस्क जस्ता प्रविधि उद्यमीहरूसँगको सम्बन्धलाई थप सशक्त बनाउन सक्छ ।

यस भेटवार्ताले भारतको विद्युतीय सवारी तथा अन्तरिक्ष अनुसन्धान क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

अब टेस्ला र भारत सरकारबीच समझदारी हुन सक्ने तथा स्पेसएक्ससँगको सहकार्यको ढोका खुल्ने सम्भावना प्रबल भारतीय सञ्चारमाध्यमहरूको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्